|

ललितपुर : प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। 

वैशाख २२ देखि २५ गतेसम्म गोटीखेलको महाँकाल माध्यमिक विद्यालयको प्रांगणमा हुने प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगिता संयोजक एवं महाँकाल गाउँपालिकाकी उपप्रमुख डोल्मा माया गोलेले जानकारी दिइन्। 

ललितपुर जिल्ला खेलकुद विकास समितिको समन्वय, राष्ट्रिय खेलकुद परिषद् राखेप र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुँदै छ।  

विभागीय टिमबाट खेल्ने र अन्ताराष्ट्रिय खेलाडीले भने प्रतियोगितामा भाग लिन नपाउने आयोजकले जनाएको छ। 

प्रतियोगितामा रु. १ करोड ३० लाखभन्दा बढीको बजेट खर्च हुने अनुमान छ। प्रतियोगिताका लागि टिम दर्ता गर्न रु १५ हजार शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ताका लागि वैशाख १५ सम्म म्याद तोकिएको छ। 

विजेता टिमले रु. ३ लाख तथा उपविजेताले रु. २ लाख र तेस्रो हुने दुई टिमले रु. १–१ लाख नगद पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही रु. ५० हजार पुरस्कार दिइने संयोजक डोल्माले जानकारी दिइन्। 

प्रतियोगिताले खेलकुदको माध्यमबाट सामाजिक एकताको सन्देश प्रवाह गर्न सहयोग पुग्ने प्रतिष्ठानका सदस्य सन्तु दराईले जानकारी दिए। 

प्रतियोगिता संयोजक गोलेले ललितपुरको दक्षिण भेगमा पर्ने तीनवटै गाउँपालिकाको धार्मिक तथा प्राकृतिक एवं ऐतिहासिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि गर्न उक्त प्रतियोगिता कोसेढुंगा हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.