|

काठमाडौँ : परराष्ट्रविद् डा. जयराज आचार्यले सरकारमा कूटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालको कूटनीति कमजोर देखिएको बताएका छन्।

दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कूटनीतिज्ञको नियुक्ति र कूटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको उनले बताए।

उनको दृष्टिमा नेपालका प्रधानमन्त्रीहरू यस्ता छन्।

गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसादसँग प्रमकै रूपमा काम गरेको थिएँ। उहाँ प्रम, रक्षा र परराष्ट्रमन्त्रीको भूमिकामा हुनुहुन्थ्यो। उहाँले म युएनमा राजदूत हुँदा आफैँ निर्णय गरे हुन्छ भन्नुभएकाले सजिलो थियो। मलाई त्यताको ज्ञान छैन भन्नुभएको थियो। भारतसँगको सम्बन्ध उहाँले ह्याण्डल गर्नुभयो। किसनुजीले भारतसँगको सम्बन्ध निकै बुद्धिमानीपूर्ण ढंगले ह्याण्डल गर्नुभएको हो।

पुष्पकमल दाहाल प्रचण्ड

कमजोर कमजोर प्रधानमन्त्री हुनुहुन्छ। उहाँ तेस्रोपटक प्रधानमन्त्री भएर पनि के भएको छ। पहिलो भ्रमणमा नौमुरे आयोजना बनाउने भनेको हालसम्म बनेन। हालसालै पञ्चेश्वर एक महिनाभित्र अघि बढाउने सम्झौता भएको सुनेको छु तर २० वर्ष भइसक्यो एक मुठी माटो पनि खनिएको छैन। रञ्जित रेले उहाँका बारेमा काठमाडौँ डिलेमामा लेखेका छन्– सुन्दा जे मिठो लाग्छ त्यही भन्छन् तर केही गर्दैनन्।

शेरबहादुर देउवा

सत्तामा गएपछि शक्ति आउँछ। शक्ति आएपछि मान्छे परिचालन गर्न सकिन्छ त्यत्ति हो, राजनीति भन्ने मान्छे। उहाँको केही कूटनीति छैन।

केपी ओली

केपीले अडान लिएको देखियो। नाकाबन्दी नहट्दासम्म भारत भ्रमण गर्दिनँ भनेर अडान लिनुभयो। हटेपछि जानुभयो। चुच्चे नक्शामा भने मिस एडभेन्चर भएको छ। भित्तामा त छ। लालपूर्जाको रूपमा भित्तामा छ। संविधानमा पनि छ तर भोगचलन भारतले छोड्दैन। यसमा कूटनीतिक कमजोरी भएको छ। नक्शा पास गर्नुअघि लिपुलेक र कालापानीमा विवादित भनेर मानेको पनि थियो। त्यसमा हामीले कुरा गरौँ दुवै पक्षलाई राम्रो हुने समाधान निकालौँ भनेर समाधान निकाल्न सकिन्थ्यो। भारतलाई यो नेपालकै हो भनेर मनाएर बरु कैलास मानसरोवर जाने बाटो दिएर। नेपालकै भूमिभित्र बनाउँ तर प्रयोग गरेबापत तिर्नुपर्छ कर भनेर स्वीकार गराएर नेपालकै हो भनेर गराउन सकिन्थ्यो। सन् १९६२ को लडाइँमा (भारतीयहरू)मर्का परेरै बसेका थिए। यसलाई कूटनीतिमार्फत मिलाउन सकिन्थ्यो। हामीले एडभेन्चरिजम गर्‍यौँ।

माधवकुमार नेपाल

उहाँको कूटनीति मलाई थाहा छैन।

बाबुराम भट्टराई

उहाँ फेल हुनुभयो। बिप्पा गरेर लागू गर्न सक्नुभएन। उहाँ बौद्धिक लाग्थ्यो तर राजनीति बिग्रँदा गलत रहेछ भन्ने लाग्छ।

आचार्यले नेपालको कूटनीतिमा यदुनाथ खनाल सक्षम र सफल रहेको बताए। देशको परराष्ट्र सेवामा नरेन्द्रमणि दीक्षितदेखि सेवा लम्सालसम्म २५ जना सचिव भए पनि खनालको उचाइ उच्च स्तरको रहेको उनको भनाइ छ। खनालको नेतृत्वमा सबैभन्दा उच्च कूटनीति सञ्चालन भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.