|

काठमाडौँ : गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषणतत्त्व भएको 'एमएमएस' चक्की दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भावस्थामा आइरन फोलिक एसिडसँगै अन्य सूक्ष्म पोषणतत्त्व पनि खुवाउनु राम्रो हुने विभिन्न अध्ययनले देखाएपछि गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषणतत्त्व भएको 'एमएमएस' चक्की दिने तयारी थालेको हो।

पहिलो चरणमा देशका १० वटा जिल्लामा पूरक बहु सूक्ष्म पोषणतत्त्वहरूको मिश्रण भएको खाने चक्की 'एमएमएस' (मल्टी माइक्रोन्युट्रेन्ट सप्लिमेन्ट्स) वितरण कार्यक्रम शुरु गर्न लागेको हो।

चालू आर्थिक वर्षभित्र प्रभावकारिता अध्ययनका लागि पहिलो चरणमा लुम्बिनी प्रदेशका १० जिल्ला कपिलवस्तु, नवलपरासी, रूपन्देही, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा, रुकुम (पूर्व), बाँके र बर्दियामा एमएमएस चक्की वितरण गरिनेछ। यी जिल्लाका पनि निश्चित स्थानीय निकायबाट पहिलो चरणमा एमएमएस वितरण हुन लागेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले बताए।

‘पछिल्ला वर्षमा नेपालमा महिलाहरूमा रक्ताल्पताको समस्या बढ्दै गएको अध्ययनले देखाइरहेको हुँदा गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आइरन फोलिक एसिड 'एमएमएस’ चक्की पनि दिने कार्यक्रम सञ्चालन गर्न लागिएको हो, विश्व स्वास्थ्य संगठनले पनि यो चक्की गर्भावस्थाका महिलाहरूका लागि खुवाउनुपर्ने गरी सिफारिस गरिसकेको छ’‚ डा. कर्णले भने।

परिवार कल्याण महाशाखाको नेतृत्वमा हाल देशभर हाल गर्भावस्थाको शुरुको तेस्रो महिनादेखि सुत्केरीपश्चात् ४५ दिनसम्म १८० वटा आइरन फोलिक एसिड चक्की निःशुल्क रूपमा १५ वर्षदेखि खुवाइँदै आएको छ।

बदलिँदो जीवनशैली, खानपानको कारण गर्भवतीहरूलाई रक्ताल्पता (शरीरमा रगतको कमी हुने समस्या)बाट बचाउनका साथै कम तौल भएको बच्चा जन्मने, समय नपुग्दै बच्चा जन्मने, गर्भमै शिशुको मृत्यु हुने तथा नवशिशु मृत्यु हुने जस्ता गर्भावस्थामा हुन सक्ने विभिन्न खतरा कम गर्न आइरन र फोलिक एसिड चक्की वितरण गर्दै आइरहेको छ।  

एमएमएस चक्की स्वास्थ्यकर्मीमार्फत गर्भजाँचका वेला स्वास्थ्य संस्थाबाट मात्रै वितरण गरिनेछ। पहिलो (१४ हप्ताभन्दा कमको) गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आएका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले एमएमएस चक्की उपलब्ध गराउनेछन्। यो चक्की मधुमेह, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, थाइरोइड हर्मोनको गडबडी भएर औषधि खाएका गर्भवती महिला, मृगौला रोग,उच्चरक्तचाप रक्ताल्पता र फाइब्रोइड जस्ता उच्च जोखिमयुक्त गर्भावस्था भएका महिलालाई खुवाइने छैन।

यो 'एमएमएस' चक्कीमा भिटामिन ए, भिटामिन डी३, भिटामिन सी, भिटामिन बी१, भिटामिन बी२, भिटामिन बी३, भिटामिन बी६, भिटामिन ई, भिटामिन बी १२, फोलिक एसिड, आइरन, जिंक, कपर‚ आयोडिन र सेलेनियम जस्ता मानव शरीरका लागि अत्यावश्यक पोषण तत्त्व भएको डा. कर्णले बताए।

यो कार्यक्रमलाई विशेषगरी बालबालिका तथा गर्भावस्थाका महिलाहरूको पोषण सम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै हेलन केलर, सुआहार नामक दातृ संस्थाको सहकार्यमा सञ्चालन गर्न लागिएको हो।  

विश्व बजारमा हाल यो सूक्ष्म पोषणतत्त्वको एमएमएस'चक्की विश्व बजारमा पर्याप्त मात्रामा उपलब्ध नभएको हुँदा पहिलो चरणमा १० जिल्लाका गर्भावस्थाका महिलाहरूलाई दिइने र पछि कार्यक्रम विस्तार गर्दै सबै जिल्लामा पुर्‍याइने परिवार कल्याण महाशाखा प्रमुख डा. कर्णले बताए। ‘मानव शरीरका लागि निकै महत्त्वपूर्ण मानिएका सूक्ष्म पोषक तत्त्वहरूको समिश्रण रहेको एमएमएस'चक्की हाल विश्वका धेरै देशमा गर्भावस्थाका महिलालाई वितरण गरिन थालेको छ जसले गर्दा कम उत्पादन भएको र धेरै माग भएको हुँदा सजिलै पाउन सकिँदैन। त्यसले गर्दा योपटक थोरै जिल्लाबाट वितरण गर्न लागिएको हो, विश्व बजारमा यो चक्की सजिलैसँग पाउन थालेपछि र महिलाहरूले पनि सेवन गरेपछि दिइने प्रतिक्रियाको आधारमा अरू जिल्लामा पनि विस्तार गर्दै लगिनेछ’‚ डा. कर्णले भने।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि नेपालमा १५-४९ वर्ष उमेर समूहका ३४ प्रतिशत महिलामा रक्ताल्पताको समस्या भएको पाइएको थियो। तीमध्ये १८ प्रतिशमा कम, १५ प्रतिशतमा मध्यम र १ प्रतिशतमा मा गम्भीर रूपमा रक्ताल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको थियो।

बदलिँदो जीवनशैलीका कारण पछिल्लो समयमा बालबालिका, किशोरकिशोरी तथा अन्य उमेर समूहमा उमेरअनुसार शरीरमा आवश्यक पोषण घट्दै गएको देखिएको छ। पछिल्लो समयको बदलिँदो जीवनशैली र धेरै जंक फुडको सेवनले गर्दा मानिसलाई कम पोषण, अति पोषण र पोषण नै नपुग्ने समस्या देखिएको हो।

पछिल्लो समय खाने शैलीमा धेरै परिवर्तन आएको छ, बजारिया खानेकुरा धेरै खाने, अझै त्यसमा पनि जंक फुड धेरै खानाले मानिसमा पोषणको कमी मात्र होइन, अधिक पोषणको समस्या देखिएको छ। अधिक पोषण शरीरमा हुनु पनि कुपोषण नै रहेको विज्ञहरूले बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.