|

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीले अब सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएको छ।

कार्यालयले सूचना जारी गर्दै अब सार्वजनिक बिदा, पर्व बिदा, दिवस बिदा र जन्मजयन्ती बिदाका दिन पनि आधारभूत सेवाअन्तर्गत (नागरिकता, राहदानी र राष्ट्रिय परिपत्रसम्बन्धी) सेवा प्रदान गर्ने भएको हो।

जिल्ला प्रशासन कार्यालयमातहत रहेको हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्ने भएका छन्।

२०८० वैशाख २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८१ साल वैशाख १ गतेदेखि २०८१ चैत मसान्तसम्म सार्वजनिक बिदाका दिन पनि कार्यालय खोलेर सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सूचना जारी गरी जानकारी गराएको हो। 

सोहीअनुसार वैशाख ५ गते विवाह पन्चमीका दिन जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयले सेवा प्रवाह गरेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्ताक्षरित जारी सूचनामा जेठ १० गते उँभौली, चण्डी पूर्णिमा, वैशाख पूर्णिमा र बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटनास्थापनाको दिन जिल्ला प्रशासन कार्यालय खुल्नेछ। 

पुस १० गते क्रिसमस, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, माघ १ गते माघे संक्रान्ति, माघ १६ गते शहीद दिवस, माघ १७ गते सोनाम ल्होसारमा कार्यालय बन्द हुने छैन।

फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते ग्याल्पो ल्होसार र फागुन २४ गते अन्तरराष्ट्रिय महिला दिवसका दिन जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्नेछ। 

सरकारले निर्णय गरी सार्वजनिक बिदा दिएको इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र र इद उल अजहामा पनि कार्यालयले सेवा प्रवाह गर्ने जारी सूचनामा उल्लेख छ। 

राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदा र शनिबारका दिन भने कार्यालय बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.