देशभरि डेँगूका विरामी ८ सय

|

काठमाडौँ : चर्कँदो गर्मीसँगै यतिखेर काठमाडौँलगायत देशभरि डेँगू‚ फ्लू, इन्फ्लूएन्जा,टाइफाइडजस्ता रोगका संक्रमणले विरामी हुनेको संख्या बढ्न थालेको छ। 

सामान्यतया अन्य मौसमभन्दा गर्मीमा यस्ता संक्रमण बढ्ने गर्छ। चर्को गर्मीले अहिले फेरि डेँगूका विरामी अस्पताल आउन थालेका छन्। सन् २०२३ वर्षभरि नै डेँगूका धेरै विरामी भेटिएका थिए।

पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यमा चुनौती बन्दै गएको डेँगू इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो एक साता ५६ जिल्लामा डेँगूका विरामी देखिएका छन्।

एक हप्तामा ४६ जनाभन्दा बढीमा डेँगू भएको पुष्टि भएको छ। गत चैतयता ८ सयभन्दा बढी डेँगूका विरामी भेटिएको ईडीसीडीले जनाएको छ।

सामान्य तथा डेँगू संक्रमण फैलन गर्मी मौसमसँगै पानी पनि पर्नुपर्ने भए पनि अहिलेजस्तो उच्च तापक्रम र वायु प्रदूषणको समयमा पनि किन डेँगूका विरामी बढिरहेका छन् भन्ने प्रश्नमा ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले भने‚ ‘पानी परेको समयमा घरवरिपरि पानी जम्छ त्यसैबाट डेँगू संक्रमण गराउने लामखुट्टे फैलन्छ तर तापक्रम  बढेसँगै गर्मी बढ्दा मानिसहरुले घरभित्र भाडामा पानी जम्मा गर्नु हुन्छ यहीँबाट लामखुट्टे लाग्छ र डेँगू बढ्छ।’

२०८१ साल लागेपछि गण्डकी प्रदेशका लमजुङ, गोरखा, पर्वत जिल्लामा डेँगूका विरामी बढेको केश समेत डा दाहालले बताए।

विशेषगरी तापक्रम बढ्दै गएपछि डेँगू सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेर डेँगूको संक्रमण बढ्ने गर्छ। यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ।

तर पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलन अनुकूल वातावरण बन्दै गएकाले वर्षातको समयमा देखिने डेँगूको संक्रमण वर्षैभरि देखिन थालेको छ।

यतिमात्रै होइन यतिखेर काठमाडौँ उपत्यकामा प्रदूषण बढ्दा फ्लू, आँखा पोल्ने तथा टाइफाइडका विरामी पनि बढ्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेँगूलगायत संक्रमण बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

वायु प्रदूषणबाट जोगिन अनावश्यक काममा घरबाट ननिस्कने, बाहिर निस्कनै परे यात्रा गर्दा मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने लगायत सुझाव मन्त्रालयले दिएको छ। यो समयमा झोलिलो पदार्थहरु पर्याप्त मात्रामा सेवन गर्न तथा गराउन अनुरोधसमेत गरेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने‚ ‘यतिखेर काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गरिएको छ। यसले तत्कालीन रुपमा आँखा, नाक, कान र घाँटी दुख्ने‚ ज्वरो र फ्लू संक्रमण बढ्ने जस्ता समस्या देखिन्छ भने दीर्घकालिन रुपमा मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर गर्नुका साथै दम‚ क्यान्सर आदिको जोखिम बढाउँछ त्यसैले सतर्क रहनुपर्ने अवस्था छ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले तापक्रम बढ्दै गएको र वायु प्रदूषण बढ्दै जाँदा घाँटी दुख्ने र श्वास प्रश्वासको समस्या भएका विरामी पनि बढ्न थालेको बताए।

उनले भने‚ ‘अब तापक्रम बढ्न थालेपछि हाम्रोमा डेँगूका विरामी पनि देखिन थालेका छन्। यससँगै अहिले उपत्यकामा वायु प्रदूषण धेरै भएका कारण श्वास प्रश्वासको समस्या भएका विरामी पनि बढेका छन्। त्यसैले यतिखेर हाम्रोमा डेँगू तथा वायु प्रदूषणका कारण कारण श्वास प्रश्वासको समस्या तथा कोभिडका विरामी पनि बढेका छन्। आजमात्रै हाम्रो अस्पतालमा एक जना कोभिडको विरामी भर्ना हुनु भएको छ।’

त्यसैले खानपानमा विशेष सावधानी अपनाउन चिकित्सकहरु सुझाव दिएका छन्। सामान्यतया यो मौसममा हेपाटाइटिस ए र बी जस्ता संक्रमणबाट धेरै जना प्रभावित हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.