काठमाडौं : जिल्ला प्रशासन कार्यालय दैलेखले स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ। सेवाग्राहीका लागि मंगलबारदेखि प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको हो।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार कार्यालयमा सेवा लिन आउनेहरूले दिउँसो १२ बजेदेखि २ बजेसम्म स्वास्थ्य परिक्षण कक्षबाट सेवा लिन सक्नेछन्।
स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधीको समेत व्यवस्था गरिएको छ।
प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएकोमा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालन गरेको भुसालले बताए। प्रजिअ खिमराज भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँग बसेर उनीहरूका समस्या र गुनासा सुन्ने गरेका छन्।
‘हामीले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको महशुस गरेका छौँ’, प्रजिअ भुसालले भने’, ‘सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर मंगलबारदेखि सेवाग्राही स्वास्थ्य परीक्षण कक्षसमेत सञ्चालमा ल्याएका हौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।