|

पर्वत : जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती मृत भेटिएको प्रकरणका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका थिए।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत सहित प्रदेश प्रहरी कार्यालयको विशेषज्ञ टोलीले पनि अनुसन्धान गरेको थियो। तर घटनाका विषयमा कुनै पनि ‘क्लु’ नभेटिँदा अनुसन्धान एक महिना लामो बन्यो।

प्रहरीले विभिन्न कोणबाट गरेको अनुसन्धानका क्रममा अन्ततः अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेको छ। दम्पती हत्यामा संलग्न दुई युवाको नाम केही अनलाइनहरूले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लाई हवाला दिँदै सार्वजनिक गरेका छन्। ब्यूरोका एसपी होविन्द्र बोगटीलाई उल्लेख गरिएको समाचारमा  कृष्ण वि.क र दीपक परियार नाम गरेका दुई जना घटनाका दोषी भएको उल्लेख गरिएको छ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतले भने घटनाका दोषी प्रहरीको नियन्त्रणमा रहेको बताए पनि यसमा कति जना संलग्न छन्, के का लागि उनीहरूको हत्या भएको थियो, हत्याको योजना कसरी भएको थियो भन्ने विवरणहरू गोप्य राखेको छ।

बुधवार सार्वजनिक बिदा परेको मङ्गलवार  प्रहरीको नियन्त्रणमा परेका अभियुक्तलाई हिरासतमा नै राखिएको छ। बिहीबार अदालतमा लगेर म्याद थपका गरेपछि मात्रै अनुसन्धानका क्रममा पत्ता लागेका सबै कुराहरू सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतको तयारी छ।

दम्पती मृत भेटिएपछि घटनाको अवस्था हेर्दा हत्या नै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो। हत्या भएको घटना थाहा भए लगत्तै प्रहरीले प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसमेतको प्रयोग गरेको थियो। तालिम प्राप्त कुकुरले जङ्गल हुँदै बजार छिरेको ‘लोकेसन ट्र्याक’ गरेको भए पनि हत्यारा दोषी पत्ता लगाउन सकस भएको थियो।

दोषीको पहिचान खुल्ने कुनै पनि प्रमाण फेला नपर्दा पनि अनुसन्धान लामो बनेको थियो। हत्यामा प्रयोग गरिएको हँसिया भने प्रहरीले बरामद गरेको थियो। घटना हुँदाको दिन एउटा शव घोप्टो अवस्थामा र अर्को शव खाटमाथि पल्टिएको अवस्थामा भेटिएको थियो।

पातलो बस्तीमा रहेको सूर्यबहादुरको घर वरपर छिमेकीका दुई वटा मात्रै घर रहेकाले बस्ती सुनसान नै रहने गरेको स्थानीयले बताएका छन्। मृत दम्पतीका तीन छोरामध्ये दुई जना रोजगारीको लागि दक्षिण कोरियामा छन् भने एक जनाले म्याग्दी सदरमुकाम बेनी बजारमा व्यवसाय गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.