|

गुल्मी : गुल्मीमा पाँच सय बढी रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरिएको छ। पैँचो नमुना कृषि उत्पादन केन्द्रले जिल्लाका तीन स्थानमा पाँच सय रोपनी बढी जग्गा भाडामा लिई ताजा तरकारी लगाएको पैँचो पसलका प्रबन्ध निर्देशक धुर्वराज न्यौपानेले जानकारी दिए।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर ५ खरज्याङमा ६० रोपनी जग्गामा विभिन्न जातका टमाटर, गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ को पुर्खेमा १५० रोपनी जग्गामा टमाटर र मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरमा ३०० सय रोपनी जग्गामा अकबरे खुर्सानी  र काँक्रा लगाइएको न्यौपानेले बताए।

पाँच सय रोपनी जग्गा व्‍यवस्थापन गर्नका लागि करिब एक करोड ५० लाख रुपैयाँ खर्च भएको र तीन सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएको उनले बताए। गाउँमा रहेको बाँझो जग्गालाई लिजमा लिई बसाइँसराइ कम गर्नका लागि थप टेवा पुर्‍याउने गरी आफूहरुले काम गर्दै आएको न्यौपानेले बताए।

विगत १० वर्षदेखि आफूहरूले पैँचो पसल प्रालि चलाउँदै आएको अनुभवलाई कृषि क्षेत्रको उत्पादनमा प्रयोग गर्ने गरी योजना बनाएको बताउँदै न्यौपानेले पैँचोलाई देशभर फैलाउने बताए।

छत्रकोट गाउँपालिका वडा नम्वर ५ को खरज्याङमा सोमबार पैँचो नमूना कृषि उत्पादन केन्द्रको सुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पैँचोसँग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताए।

पैँचोको निरन्तरताले नेपालका पहाडी क्षेत्रबाटै कृषिबाट आत्म निर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए।  पालिकाले कृषकहरुलाई उत्पादनका आधारमा अनुदान दिने गरी कार्यविधि तयार गरेको बताउँदै निजी क्षेत्रहरू र सहकारीलाई साथमै लिई बजारीकरणको काम गर्न सक्ने योजना पनि सुनाए।

यस्तै, कृषि ज्ञानकेन्द्रका प्रमुख नवराज भण्डारीले युवाहरुलाई देशमा रोजगारी सृजना गर्नका लागि उत्तम विकल्प भनेको व्‍यावसायिक रूपमा कृषि र पशुपालन नै रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.