सुर्खेत : मुगुको छायाँनाथ रारा नगरपालिका–११ का बिमी बुढाले दैनिक आवश्यक अन्न गाउँको बिच भागमा रहेको ओखल (ओख्याल) मा राखेर मुसलको सहाराले कुट्ने गर्छिन्। रहर नभई उनको यो बाध्यता हो। उनी मात्र होइन यहाँ अहिलेसम्म यही परम्परागत ओखलले अन्न कुट्ने-पिस्ने गर्दै आएको छ।
दुई हातको सहाराले एक खुट्टाले अन्न ओखलभित्र हाल्दै अर्को खुट्टाले बल लगाएर मुसलद्वारा अन्नपात कुटानी–पिसानी हुने गर्छ। रोवा गाउँको बीचमा रहेको परम्परागत घरको बिचमा तीनवटा ओखलबाट स्थानीयवासीले अन्न कुट्ने-पिस्ने गर्दै आएका छन्।
अधिकांश मानिस ओखलमा मुसलको सहाराले पाखेधान (पाखो जमिनमा लगाउने), कोदो , गहुँ, मकै कुटानी, पिसानी गरेर जीविका गर्छन्। रोवा मात्र होइन, यो क्षेत्रका अधिकांश गाउँमा मुसलकै सहायताले ओखलमा खाद्यान्न राखेर कुट्दै-पिस्दै आएको अर्की शिक्षक रति कुमाईँले जानकारी दिइन्।
महिला तथा पुरुष दैनिक ओखलमा अन्न कुटानी र पिसानीको काममा निकै व्यस्त हुने गरेको उनले बताइन्। ओखलमा अन्न कुटानी-पिसानीको काम गर्दा निकै दुःख हुने रुवाकी पानमती महतराले बताइन्। ‘पुरुषभन्दा बढी महिलाले दुःख पाउनुपर्छ। हातको सहाराले कुट्दा कुट्दा हातमा ठेलासमेत बसिसके। हाम्रा दु:ख कसले हेर्ला?’ उनले सुनाइन्।
मुगुमा सदरमुकाम सहित ४ स्थानीय तह छन्। सबै गाउँमा मुसलकै सहरामा अन्नहरु कुटानी,पिसानीको काम हुने गरेको पत्रकार महासंघ , मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताए। यसबाट अन्न कुटानी–पिसानी गर्दा स्वादिष्ट हुन्छ। रैथानीबाली मुगुमा धेरै पाइने हुने सबै यहीबाट कुटानी-पिसानीको काम हुन्छ।’
तल्लो भागमा ढिकीको प्रयोग हुने भए पनि मुगुमा ओखल र मुसलकै प्रयोग बढी हुने गरेको छ। कुटानी ,पिसानीको गर्नका लागि आधुनिक मिल सञ्चालनमा ल्याउन सके छिटो छरितो हुनुका साथै समयको बचत हुने प्रभात माध्यमिक विद्यालय रोवाकी शिक्षिका नन्दा शाही बताउँछिन्। ‘मेरो घर जाजरकोट हो , तर हाम्रोमा यत्ति धेरै दु:ख छैन। यहाँका महिलालाई धेरै दुःख रहेछ’, उनले भनिन्।
गाउँगाउँमा दुई वर्षदेखि विद्युतका पोल बाटोभरि ठड्याइएको छ। तार पनि टाँगिएको छ तर विद्युत छैन। विद्युत पुगेपछि यहाँका स्थानीयवासीले विद्युतीय मिलमा कुटानी-पिसानी गर्न नपाएका स्थानीय शिक्षक पदम कुमाइले बताए। गाउँमा पानीबाट सञ्चालन हुने घट्ट पनि छैनन्। गाउँमा सडक पुगेको छ, तर सवारीसाधन गुड्दैनन्। अलि हुने खानेले सदरमुकामबाट चामल ल्याएर दैनिक भान्सा चलाउँछन्।
भर्खरै मात्र मोबाइल फोनको पहुँचमा आएको यहाँका गाउँमा इन्टरनेट सेवा अझैँ सबै ठाउँमा पुग्न सकेको छैन। सदरमुकाम रहेको छायाँनाथ रारा नगरपालिका भित्र केही सजिलो भएपनि अन्य पालिकामा अझैँ भारी सास्ती रहेको शाहीको भनाइ छ। बिहाहीन देखि बेलुकी सम्म काम गर्दा पनि मुस्किलले खाना पुग्ने ग्रामिण क्षेत्रको कामले यहाँका सर्वसाधारण हैरान हुन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।