|

काठमाडौँ : पाँच दिनमा सात जिल्लाका १६ लाख व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) महाशाखाले गत आइतबारदेखि देशका सातवटा जिल्ला (झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरी)मा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन शुरु गरेको थियो।

जसमा हालसम्म सात जिल्लाका १६ लाखजनाले यो औषधि सेवन गरिसकेको इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले बताए। ‘हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान शुरु भएको पाँच दिनमा हालसम्म १६ लाखजनाले यो औषधि सेवन गरिसक्नु भएको छ, हालसम्म औषधि खाएपछि स्वास्थ्यमा असर देखिएको छैन’‚ डा. दाहालले भने।

सातवटा जिल्लामध्ये कपिलवस्तु जिल्लामा यसअघि सञ्चालित यो कार्यक्रम असफल भएपछि यस पटक पुनः शुरु गरिएको थियो। हात्तीपाइले रोगबाट बच्न का लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेक्टिन नामका तीन औषधि खुवाउने भएको हो। रगत र पेटमा भएका परजीवी जुका मार्न ती औषधि खुवाइन्छ। चिकित्सकका अनुसार डीईसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्छ।

योपटक इडिसिडीले ७ जिल्लाका ५१ लाख जनतालाई यो औषधि खुवाउने लक्ष्य राखेको छ। जसअनुसार हाल ३१ प्रतिशत ( १६ लाखले)औषधि खाइसकेका छन्। ‘हामीले सात जिल्लामा ८० प्रतिशत जनतालाई यो औषधि खुवाउने लक्ष्य राखी १४ दिनसम्म सञ्चालन गरिने कार्यक्रममा ५ दिनमा ३१ प्रतिशतले खाइसक्नु भएको छ। हाम्रो लक्ष्यअनुसार यो कार्यक्रम योपटक सफल हुने देखिएको छ’‚ डा. दाहालले भने।

७ जिल्लाका ८० प्रतिशत व्यक्तिलाई मात्रै यो औषधि खुवाउने लक्ष्य राखियो त भन्ने प्रश्नमा डा. दाहालले भने‚ ‘यो औषधि सेवन गर्दा कुनै असर नगर्ने भए पनि  दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले यसको औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिले यो औषधि खुवाइँदैन। त्यसैले यो समूह बाहेकका ८० प्रतिशतलाई खुवाइने हो। अहिले पनि यस सात जिल्लामा यो समूहभन्दा बाहिर भएका तर औषधि खाइनसकेका व्यक्तलाई हामी यो औषधि खान आग्रह गर्छौँ।’

सरकारले यो कार्यक्रमका लागि १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ।

शुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले ७ जिल्लामा जोखिम रहेको छ। सरकारले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

हात्तीपाइले रोगमा बढीजसो पुरुषको अण्डकोष सुन्निने र हात तथा खुट्टा सुनिने गर्छ। विश्व स्वास्थ्य संगठनसँगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत संसारबाटै यो रोगलाई निवारण गर्ने लक्ष्य विश्व स्वास्थ्य संगठनले राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.