|

काठमाडौं  : नेपालमा मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा  प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा अभिलेख गरिएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा  मिडिया एक्सन नेपालले शुक्रबार कार्यक्रम गरी यो तथ्याङ्क सार्वजनिक गरेको हो। 

यो अवधिमा पत्रकारमाथि शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैरकानुनी गिरफ्तारी, र उपकरण जफतसहित उल्लङ्घनका घटना भएको हो। प्रतिवेदनले पत्रकारिता पेशाबाट महिला पत्रकारको अवस्था चिन्ताजनक रहेको जनाएको छ। यो अवधिमा २९ महिला पत्रकारले जागिर छाडेका छन्। लैङ्गिक भेदभाव, यौन उत्पीडन र उन्नतिको लागि असमान अवसरका कारण उनीहरू जागिर छाड्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लङ्घनको वास्तविकतालाई समेत उजागर गरेको छ। श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारहरूलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिताको अखण्डतामा सम्झौता गरेको छ।

पत्रकार विरुद्धको अपराधका लागि निरन्तर दण्डहीनताले द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटा मुद्दामा मात्रै मुद्दा चलाएर मिडिया व्यवसायीहरूले सामना गर्ने चुनौतीहरूलाई थप बढाएको प्रतिवेदनले जनाएको छ।

कार्यक्रमका विशेष अतिथि वन तथावातावरणमन्त्री नवलकिशोर साह सुडीले पत्रकारहरू समाजको  मार्ग दर्शन गर्ने तेस्रो आँखा भएको बताए। 
कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालकी उपाध्यक्ष  प्रियंका झाले मिडिया र वातावरण सँगसँगै महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढनु पर्ने बताइन्।

‍मिडिया एक्सन नेपालले ,प्रेस स्वतन्त्रताको रक्षा गर्न,पत्रकारहरूको अधिकारको रक्षा गर्न र सार्वजनिक हितको सेवा गर्ने जीवन्त र स्वतन्त्र मिडिया क्षेत्र सुनिश्चित गर्न सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गर्दै कार्यका लागि आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.