|

ललितपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटिने बताएका छन्।

प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए।

“उपत्यकाभित्र रहेको ललितपुरको यो क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ। एक घण्टामा काठमाडौँ पुग्ने गरी सडकको विस्तार आवश्यक छ । यहाँको सडक सञ्जालको स्तरोन्नतिका लागि यस पटकको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ”, उनले भने। 

प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्ने र सङ्घले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए। 

आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित गरेको स्मरण गर्नुहुँदै उहाँले खेल क्षेत्रलाई व्यापकता दिन खेलाडीले अनुशासितरुपमा खेल प्रदर्शन गरी सभ्य र भब्य बनाउन आग्रह गरे।

उद्घाटन कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुङ्गालगायत क्षेत्र रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि सङ्घीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.