मंगलबार सेमिफाइनलका खेल

|

ललितपुर : काठमाडौँ महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शनिबार गोदावरीमा सम्पन्न क्वाटरफाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारमा पुगेको हो। मध्यपुरका लागि दीपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक–एक गोल गरे। 

खेलको चौथो र ५४औँ मिनेटमा गोल गरेका दीपक खेलको म्यान अफ दि म्याच भए। उनलाई फिफा रेफ्रि नवीन्द्र महर्जनले आयोजकका तर्फबाट ५ हजार नगद र ट्रफि हस्तान्तरण गरे। 

प्रतियोगिता आफ्नो व्यक्तिगत गोल संख्या ४ पु¥याएका मध्यपुरका रोहनले खेलको ५८औँ मिनेटमा गोल गर्दा कप्तान यमनले ६०औँ मिनेटमा गोल गरेका थिए । 

खेलको ४१औँ मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सुर्दशनले गोल गरेका थिए। 

राम्रो खेल्दाखेल्दै पनि पराजित भएको कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे। उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो।  यसअघि उनले तारकेश्वर नगरपालिकाविरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए। 

यमनले खेलको ४३औँ, ६६औँ र ८२औँ मिनेटमा गोल गरे। शनिवारको खेलमा कीर्तिपुरका लागि अर्को एक गोल सन्जोग महर्जनले ८१औँ मिनेटमा गरे।
खेलको ६० मिनेटसम्म ४–१ को अग्रता लिएको मध्यपुरलाई त्यसपछि एकपछि अर्को गोल गर्दै ८२ मिनेटमा पुग्दा स्कोरअन्तर कीर्तिपुरले ५–४ मा घटाएको थियो। खेलको उत्तरार्द्धमा कीर्तिपुरले मध्यपुरलाई निकै दबाबमा राखेको थियो।

शनिवार नै भएको अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ गोल अन्तरले हराउँदै काठमाडौँ महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

काठमाडौँका लागि दुवै गोल राज पौडेलले गरे। खेलको २०औँ र ६५औँ मिनेटमा गोल गरेका राज खेलको म्यान अफ दि म्याच भए। उनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले ५ हजार नगदको चेक र ट्रफि हस्तान्तरण गरे। पराजित गोदावरीका लागि खेलको ९०औँ मिनेटमा राजन महर्जनले एक गोल फर्काए । 

दोस्रो हाफको अन्त्यतिर गोदावरीले काठमाडौँलाई केही दबाबमा राखे पनि अन्ततः थप गोल हुन नसकेपछि आयोजकको दोस्रो टिम पनि बाहिरिएको छ। 
यसअघि गोदावरी टिम ए महालक्ष्मी नगरपालिकासँग पहिलो खेलमै पराजित भएको थियो। 

मंगलबार सेमिफाइनलका दुवै खेल 

शनिबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। आगामी वैशाख २५ गते मंगलबार दिउँसो साढे १२ बजे काठमाडौँ महानगर र मध्यपुर थिमिबीच पहिलो सेमिफाइनल हुने छ।  

यसैगरी दिउँसो साढे ३ बजे चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच दोस्रो सेमिफाइनलको खेल हुने छ। दक्षिणकाली नगरपालिकालाई २–० ले हराउँदै महालक्ष्मी नगरपालिकाले अन्तिम चारमा स्थान बनाएको हो । चन्द्रागिरी नगरपालिकाले नागार्जुन नगरपालिकालाई ४–० को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।  

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.