दक्ष प्रसूति स्वास्थ्यकर्मी- मिडवाइफ्रीहरु सेवा समूहभन्दा बाहिर काम गर्न र विदेश पलायन हुन बाध्य

|

काठमाडौँ : मिडवाइफ्री अर्थात् दक्ष प्रसूति स्वास्थ्यकर्मी। नेपालजस्तो ग्रामीण भेगमा हुने धेरै स्वास्थ्य संस्थामा हुने प्रसूति सेवाका लागि महत्वपूर्ण मानिने स्वास्थ्यकर्मी हुन्- मिडवाइफ्री। 

चिकित्सकीय भाषामा प्रसूतिसम्बन्धी स्वास्थ्य सेवाको लागि अत्यावश्यक आधारभूत स्वास्थ्य शिक्षा र दक्षता पूरा गरी मिडवाइफ अभ्यास गर्न योग्य लाइसेन्सप्राप्त स्वास्थ्यकर्मीलाई मिडवाइफ्री भनिन्छ।

मिडवाइफ्री स्वस्थ प्रसूतिका लागि सक्षम जनशक्ति हुन्। त्यसैले मिडवाइफ्रीको सहायतामा गरिएको प्रसूतिले जन्मजात शिशुको स्वास्थ्य राम्रो हुनुका साथै गर्भावस्था पूर्व र बच्चा जन्माइसकेपछिको ४५ दिनसम्म सुत्केरी स्वास्थ्यमा जटिलता नआउने विश्वास गरिन्छ। 

जसले गर्दा मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण रहन्छ। विकसित मुलुकमा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोचाइमा परे पनि नेपालमा भने यसको महत्व अझै बुझाउन सकिएको छैन।

नेपालमा मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मिडवाइफ्री अर्थात् दक्ष प्रसूति स्वास्थ्यकर्मी अवधारणाअनुसार सन् २०१६ मा नै मिडवाइफको अध्यापन शुरु गरिएको थियो।

हाल ६ वटा शिक्षण संस्था (काठमाडौँ विश्वविद्यालय‚ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्‌यालय) बाट स्नातक तहको मिडवाइफ्री अध्यापन भइरहेको छ। 

यसै वर्षदेखि दुई शिक्षण संस्था (जिरी प्राविधिक शिक्षालय र गौर पोलिटेक्निक इन्स्टिच्युट) बाट प्रवीणता प्रमाणपत्र तहको अध्यापन सञ्चालन भइरहेको छ।

हाल ५ वटा शिक्षण संस्थामा कुल १८८ जना विद्यार्थी स्नातक तहमा मिडवाइफ्री विषय अध्ययनरत छन्।

त्यसयता हाल अध्ययन सकेर ६६ जना मिडवाइफ्रीले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स लिइसकेका छन् तर सरकारले यी मिडवाइफ्रीलाई सरकारी स्वास्थ्य प्रणालीमा ल्याउन नसक्दा यस्ता स्वास्थ्यकर्मी आफ्नो सेवा समूहभन्दा बाहिर काम गर्नुपर्ने अवस्थामा छन्।

‘नेपालमा सन् २०१६ देखि मिडवाइफ्री शिक्षा शुरु भएको हो। त्यसयता ६६ जना मिडवाइफ्रीले लाइसेन्स लिइसकेका छन् तर सरकारले मिडवाइफ्रीको दरबन्दी खुला नगर्दा उनीहरु सरकारी तहमा मिडवाइफ्रीका रुपमा प्रवेश गर्न पाएका छैनन्‚’ मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्रा गोमा निरौलाले भनिन्‚ ‘दक्षताअनुसारको सरकारी सेवा प्रणालीमा ल्याउन नसक्दा मिडवाइफ्रीहरु ट्रमा सेन्टर, वीर अस्पतालजस्ता अस्पताल तथा निजी स्वास्थ्य संस्थामा काम गर्न बाध्य छन्। अहिले हामीसँग भएका मिडवाइफमध्ये २/३ जना विदेश पलायन भए पनि अरु भएका जति आफ्नो दक्षताभन्दा बाहिर काम गरिरहेका छन्।’

महिलाको गर्भ रहेदेखि शिशु जन्मिने बेलासम्मको रेखदेख गर्ने काम मिडवाइफ्रीको हो। स्वास्थ्य संस्थामा गर्भवतीलाई जाँच गर्ने, औषधि दिने, प्रसूति गराउने र सुत्केरी भइसकेपछि उनीहरुको स्याहार गर्ने मात्र नभई उनीहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनु पनि उनीहरुको मुख्य कामअन्तर्गत पर्छ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार दक्ष र सक्षम मिडवाइफ्रीको सहायताले ८० प्रतिशतभन्दा बढी मातृ मृत्यु र नवजात मृत्यु रोक्न सकिन्छ। 

मातृ तथा नवजात मृत्यु रोक्न मात्र नभई गुणस्तरीय मिडवाइफ्री सेवाले यौन तथा प्रजनन् स्वास्थ्य, खोप, स्तनपान, गर्भावस्थामा सूर्तिजन्य पदार्थको प्रयोग, गर्भावस्थामा हुने मोटोपनलगायत समस्यामा ५० प्रतिशतभन्दा बढी सुधार गर्न सकिन्छ।

हाल रहेका मिडवाइफ्रीमध्ये ५ जनामात्र स्टाफ नर्सको दरबन्दीमा सरकारी सेवामा छन्। सरकारले पेशागत मिडवाइफ्री (प्रसाविका) को विकास गर्न सन् २००६ मा दक्ष प्रसूतिकर्मी नीति (नेशनल पोलिसी अन स्किल्ड बर्थ एटेन्डेन्स) समेत ल्याएको थियो।

नेपाल दक्षिण एशियामा अफगानिस्तानपछिको उच्च मातृ मृत्युदर भएको दोस्रो मुलुक भएको हुँदा मातृ मृत्युदर घटाउन मिडवाइफ्री शिक्षाको महत्त्वपूर्ण भूमिका हुने मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष निरौलाले बताइन्। 

‘विभिन्न अन्तरराष्ट्रिय अनुसन्धान प्रतिवेदनका अनुसार नेपाल दक्षिण एशियाकै अफगानिस्तानपछिको उच्च मातृ मृत्युदर भएको दोस्रो मुलुकमा पर्छ। त्यसैले मातृ मृत्युदर कम गराउन मिडवाइफ्री शिक्षामा जोड दिनुपर्छ, दक्ष मिडवाइफ्रीको सेवा पाए मातृ मृत्युदरमा धेरै कमी ल्याउन सकिन्छ’‚ निरौलाले भनिन्।

विश्वमा अझै पनि आवश्यक मिडवाइफ्रीमध्ये एक तिहाइ अभाव नै रहेको मिडवाइफ्री सोसाइटी अफ नेपालले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति आव ०७७/७८ देखि ०८७/८८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्म ४ हजार १८० जना र सन् २०३० भित्र ६ हजार ४१० जना गरी जम्मा १० हजार ५९० मिडवाइफ्री आवश्यक पर्ने अनुमान गरिएको छ। 

विश्व स्वास्थ्य संघको सन् २०२३ को प्रतिवेदनअनुसार हरेक दिन विश्वमा औसत ८ सय गर्भवती तथा सुत्केरी महिलाको, रोकथाम गर्न सकिने कारणले मृत्यु हुने गरेको देखिएको छ र प्रत्येक २ मिनेटमा एकजना आमाको मृत्यु भइरहेको उल्लेख छ। 

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार प्रति लाख जीवित जन्ममा १५१ जना महिलाको मृत्यु भएको देखिएको छ। 

यो संख्या दिगो विकास लक्ष्य सन् २०३० सम्ममा मातृ मृत्युदर ७० भन्दा मुनि झार्ने लक्ष्यको दोब्बरभन्दा बढी हो। 

त्यसरी नै नेपाल जनसांख्यिक सर्वेक्षण २०२२ अनुसार नवजात शिशु मृत्युदर २१ प्रति हजार जीवित जन्म रहेकोमा दिगो विकास लक्ष्यअनुसार १२ प्रति हजार जीवित जन्ममा झार्नुपर्ने देखिन्छ।

यो लक्ष्य प्राप्त गर्न मिडवाइफ्रीलाई एउटा उपयुक्त जनशक्ति रहेको भए पनि हाल मिडवाइफका लागि दक्ष भएर लाइसेन्स लिएर बसेकाहरुलाई सरकारी स्वास्थ्य प्रणालीमा ल्याउन नसक्दा अहिले हासिल भएका स्वास्थ्यका उपलब्धि पनि गुम्ने अवस्थामा छ।

थापाथलीस्थित परोपकार प्रसूति गृहका निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी मिडवाइफको सेवा महिला गर्भवती भएदेखि प्रसूति सेवासम्म दिन सके महिला तथा नवजात शिशुको स्वास्थ्य राम्रो हुनुका साथै ठूला रिफरल अस्पतालमा भिडभाड कम हुने र विशिष्टिकृत सेवामा राम्रो हुने बताउँछन्। 

डा अधिकारीले भने‚ ‘सुत्केरी केसमा डाक्टरले जटिल केसमात्र ह्यान्डल गर्ने र नर्मल डेलिभरीको काम मिडवाइफले गर्न सके मातृ तथा नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा एकदमै राम्रो हुनुका साथै अस्पतालमा बढी भिडभाड हुने समस्या घट्छ, नर्मल डेलिभरीका लागि डाक्टर चाहिँदैन, मिडवाइफले नै उत्कृष्ट सेवा दिन सक्छन्। हाम्रो जस्तो ग्रामीण भूभागमा धेरै बसोबास गर्ने देशमा आमा र बच्चाको लागि स्थानीय निकायका गाउँ गाउँसम्म पीसीएल मिडवाइफ्री पठाउन सकिए धेरै हदसम्म मातृ मृत्युदर कम गर्न सकिन्छ।’

समुदायमा आवश्यक स्वास्थ्य शिक्षा एकीकृत गर्न घरभित्र र बाहिर वायु प्रदूषण कम गर्न धुवाँरहित चुलो, पानी संरक्षण विधिहरु, घरमै बनाउने सर्वोत्तम पिठोको बारेमा सशक्तीकरण गरि जलवायु कार्यनीतिमा समेत मिडवाइफ्रीले गर्न सक्ने हुँदा अहिलेको अवस्थामा मिडवाइफ्रीको भूमिका उल्लेखनीय रहेको मिडवाइफ्री सोसाइटीकी पूर्वअध्यक्ष किरण बज्राचार्यले बताइन्। 

‘जलवायु परिवर्तनले अहिले समयअगावै बच्चा जन्मने, सुत्केरी अवस्थामा पनि महिलाहरुमा विभिन्न खालका जटिलता देखिन थालेको छ यस्तो अवस्थामा मातृ सुरक्षाको लागि पनि मिडवाइफ्रीको भूमिका महत्वपूर्ण छ‚’ पूर्वअध्यक्ष ब्रजाचार्यले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.