|

पाल्पा : जिल्लाका किसान एग्रोभेट सेन्टरबाट नै ठगिएको पाइएको छ। कृषि ज्ञान केन्द्र पाल्पा र बीऊ बीजन प्रयोगशाला भैरहवाको संयुक्त आयोजनामा भएको अनुगमनका क्रममा यस्तो फेला परेको हो। 

सोमवार तानसेन बजार, आर्यभन्ज्याङ र रामपुर बजारमा रहेका विभिन्न एग्रोभेट सेन्टरमा अनुगमन गरिएको थियो। केही एग्रोभेट सेन्टरमा म्याद गुज्रिएका बीऊबीजन बिक्री गरेको पाइएको छ। नेपाल सरकारले सूचीकृत गरेकाबाहेक अन्य बीऊ बीजनसमेत बिक्री गर्दै आएको अवस्थामा भेटिएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए।

साग, भिण्डी, चिचिन्डो, खुर्सानी, फर्सी, सिमीलगायतका बीऊ म्याद गुज्रिएको अवस्थामा फेला परेका उनले बताए। जिल्लाका ८ वटा एग्रोभेटमा अनुगमन गरिएको थियो। अधिकांश एग्रोभेटमा मापदण्ड विपरित किसानलाई बीऊ बिक्री गर्दै आएको पाइएको हो। मापदण्ड विपरितका केही सामाग्री जफत गरिएको छ। 

आगामी दिनमा नेपाल सरकारले तोकेको मापदण्डअनुरुप सामाग्री बिक्री गर्नका लागि भनेर सचेत गराइएको अनुगमनको नेतृत्व गरेका बीऊ बीजन प्रयोगशालामा भैरहवाका प्रमुख शालिकराम गौतमले बताए।

सूचीकृत नभएका मकै र तरकारीका बीऊसमेत बिक्री गरेका पाइएको छ। कुन जातका बीउ कुन क्षेत्रमा रोप्ने हो भन्ने समेत एग्रोभेट सञ्चालकलाई ज्ञान नभएको भेटिएको। तराइ, भित्री मधेस, पहाड र पहाडका कुन क्षेत्रमा कुन जातका बीउ रोप्नेबारे एग्रोभेट सञ्चालकलाई थाहा नभएको उनले बताए।

एग्रोभेटवालाको लापरबाहीले किसानले उत्पादनमा घाटा बेहोर्नु परेको छ। भौगोलिक हिसाबले कम उचाइ अर्थात् तराई मधेसमा उत्पादन हुने धानको बीऊसमेत पाल्पाका पहाडी भेगका किसानलाई बिक्री गरेको पाइएको गौतमले बताए।

तत्काललाई कडा चेतावनीसहित मापदण्ड भित्र रहेर एग्रोभेट सेन्टर सञ्चालन गर्न भनिएको छ। अर्को पटकको छड्के अनुगमनमा पनि सुधार नभएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए। 

सूचीकृति नभएको गगन गोल्ड हाइब्रीड मकैको बीऊ बिक्री गरेको अवस्था छ। विवरण नखुलाइएको प्याकेटमा रहेका बीउ बिजन किसानलाई बिक्रीका लागि एग्रोभेट सेन्टरमा राखिएको छ। 

यसरी बीउ बिक्री गर्न पाइँदैन्। यस्ता अनाधिकृत बीऊबाट फल लागेन भने किसान वर्षभरीलाई घाटामा जान्छन्। क्षतिपूर्ती पाउने अवस्था हुँदैन्। आगामी दिनमा एग्रोभेट सञ्चालकले सूचीकृत नभएका बीऊ बिक्री गरेको फेला परेमा कारबाही हुने गौतमले चेतावनी दिए। 

उनले भने, “बीऊ बीजन, विषादी र कृषिका सामाग्री अव्यवस्थित ढंगले पसलमा राखेको पाइएको छ। तालिम नलिएका व्यक्तिले समेत बीऊ बीजन, विषादी र पशुपंक्षीका लागि औषधि बिक्री गरेको फेला परेको छ। यो अत्यन्तै संवेदनशील अवस्था हो। गम्भीर प्रकृतिको लापरबाही हो।” 

आगामी दिनमा यही अवस्थामा भेटिए कारबाही हुनेगरी सचेत गराएको उनले बताए। किसान पनि सचेत हुनुपर्ने बेला आएको छ। सामग्री खरिद गरेपछि बिल माग्नुपर्छ। एग्रोभेटबाट खरिद गरेका बीऊ मापदण्ड विपरित भए तत्काल सम्बन्धित निकायमा खबर गर्न गौतमले सुझाए। 

मापदण्ड विपरित बिक्री वितरण गर्नेलाई के हुन्छ कारबाही? 

मापदण्ड विपरित बिक्री वितरण गर्नेलाई एग्रोभेट सञ्चालकलाई जरिवाना तिराइन्छ। उसले गरेको लापरबाहीको प्रकृति हेरेर कैद पनि तोएिको छ। जरिवाना र कैद दुवै सजाय हुने व्यवस्था पनि छ।  

अनुमति पत्र नलिइ कारोबार गर्नेलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना र तीन महिना कैद हुने कानुनमा व्यवस्था छ। मापदण्ड विपरितका सामग्री बिक्री गरेको पाइएमा १० हजारदेखि ५० हजारसम्म जरिवाना र तीन महिनासम्म कैद हुने कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले बताए। 

कार्यालयले बेलाबेलामा अनुगमन गर्दै आइरहेको छ। किसानले गुनासो गरेमा जतिबेला पनि अनुगमन गरिने उनले बताए। 

किसानहरू कृषि व्यवसायमा असफल हुनुको कारण कतिपय एग्रोभेट सञ्चालक पनि रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताए। सञ्चालक इमानदार र किसान सचेत भएमा कृषि उत्पादनबाट राम्रो आम्दानी हुने उनले बताए।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.