|

काठमाडौँ : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारका पार्टीको सहभागिताालाई निरन्तरता दिने भएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलवार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो। 

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ। 

‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरो अध्ययन तथा विश्लेषण गरेको छ र सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ‚’ उनले भने, ‘हाम्रो पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भूमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको छ।’

पार्टी महाधिवेशनसम्बन्धी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए।

‘पार्टीले अर्को निर्णय गरेको छ–महाधिवेशनको तयारीसँग जोडिएका कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्न सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ‚’ उनले भने‚ ‘र पार्टी एक ढिक्का छ‚ यहाँ कुनै वैमनष्यता छैन‚ कुनै समस्या छैन भन्ने कुरामा पार्टी प्रष्ट छ।’

बैठकमा नेताहरुले पार्टीको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए। पार्टीभित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.