|
फाइल तस्वीर

गाईघाट : यस वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबवेल (कल)को पानी सुक्न थालेको छ।

त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका विभिन्न स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहत सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन्।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको मगरले बताए। 

त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुनि पानीको सतह घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबवेलबाट समेत पानी आउन छाडेको हो।

खडेरीले जमिनमुनि पानीको सतह अझै घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिटमुनिसम्म गाडिएको ट्युबेलबाट केही दिनयता पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताए।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा पानीको सतह धेरै घटेर तल पुगेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताए। 

वडा नं ५ देउरी जलजले क्षेत्रमा ५ दर्जनभन्दा बढी ट्युबवेल सुकेका स्थानीय परमानन्द चौधरीले बताए। उनका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिरा कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन्।

गाईघाट डिएमगेटका ट्युबवेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सतह घटेको छ। उनले यस क्षेत्रमा झण्डै ५ सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेको बताए।

पानीको सतह घटेर पानी आउन छाडेपछि कतिपय स्थानीय इनारबाट पानी ओसारेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.