|

धनकुटा : धनकुटामा जारी १६ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।

धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै एपीएफ क्लब काठमाडौँ उपाधि नजिक पुगेको हो। 

निर्धारित समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एपीएफका सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गरे भने राष्ट्रिय जागृति फुटबल क्लबका लागि उमेश राई र कुलदीप कार्कीले गोल गरे। यस्तै जागृतिका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राईको प्रहार एपीएफका गोल किपर एञ्जल श्रेष्ठले रोकेका थिए।

यसैगरी एपीएफका रिपेश धिमाल र विश्वास उदासको प्रहार जागृतिका गोल रक्षक विनय श्रेष्ठले बचाएका थिए। खेलका म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए। उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे।

एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड क्लब झापा र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानबीच शुक्रबार हुनेछ।

दर्शकका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.