|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने बताएका छन्।

बिहीवार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने बताएका हुन्। 

उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने बताए। उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त कलेजहरुको अनुगमन गरी निश्चित संयन्त्र बनाइ नियन्त्रण गर्नुपर्ने बताए।

‘हामी परीक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो‚ हामीले स्वीकार्नु पर्छ। परीक्षा सुधार्न मेरो टिम लागिराखेको छ‚’ उनले भने‚ ‘परीक्षा क्यालेण्डर बनाउने, परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षा समयमै गर्ने हाम्रो योजना छ।’

हरेक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक संगठन रहेका भन्दै उनले हरेक दिन उनीहरुसँग नै अल्झिरहनु परेको दुखेसो पोखे। 

‘सबैले स्वीर्कानुपर्ने कुरा के हो भने जति दल छन्, ती दलका विद्यार्थी संगठन, कर्मचारी संगठन र प्राध्यापक संघ पनि छन्। एक दिन एउटा पार्टीको आउँछ‚ अर्कोदिन अर्कोको। त्यसैमा हामी धेरै अल्झिराख्नु परेको छ‚’ उनले भने‚ ‘हामीले अनावश्यक रुपमा आफ्ना भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ। हिजो पञ्चायतकालमा आवश्यक थियो। अब शैक्षिक क्षेत्रमा, शैक्षिक संस्थाहरुमा भ्रातृ संस्थाहरुलाई परिचालन गर्नुपर्ने छ कि छैन भन्नेमा यहाँहरुले पनि सोच्नुपर्ने वेला आएको छ।’

उनले विगतमा भ्रातृ संगठनहरु आवश्यक भए पनि अबका दिनमा शैक्षिक संस्थामा भ्रातृ संगठनहरुको उपयोगिताको सम्बन्धमा दलहरुले सोच्नुपर्ने वेला आएको बताए। उनले आफूहरुले पनि विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि शुद्ध किसिमले चलाउने बताए।

‘हामीले पनि शुद्धगरी, केही बायस नगरी विश्वविद्यालय सञ्चालन गर्ने भनेका छौँ। भागबण्डा लगाउनु हुन्न भन्ने कुरा छ। मैले तीतो सत्य भन्नैपर्छ, एउटा प्रोफेसर भागबण्डाको नाममा एउटा लेक्चररको मातहतमा काम गर्नुपर्दा प्रोफेसरले कुन मन लिएर कक्षामा जान्छ?‚’ उनले भने‚ ‘त्यसैले राजनीतिबाट मुक्त नगराउँदासम्म विश्वविद्यालयमा क्यालेण्डर प्रणाली लागू गर्न अफ्ठ्यारो महशुस गरेको छु। विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त विदेशी कलेजहरु छन्। न तिनको कोटा छ‚ न गुणस्तरीयताको अनुगमन हुन्छ। निश्चित संयन्त्र तयार गरेर तिनीहरुलाई नियन्त्रण गर्नुपर्छ।’

उनले त्रिभुवन विश्वविद्यालयले मात्रै क्यालेण्डर प्रणाली लागू गर्छु भनेर नहुने भन्दै एसईई परीक्षालगायतका परीक्षाहरु र अन्य विश्वविद्यालयको क्यालेन्डरसँग पनि सम्बन्धित हुने बताए। 

विश्वविद्यालयले बजारको मागअनुरुप नयाँ पाठ्यक्रम दिन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा नयाँ पाठ्यक्रमको बारेमा पनि सोचिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.