|

काठमाडौँ : शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न सरकारी विद्यालयले बनाएका कला सिर्जनाको आजदेखि प्रदर्शनी थालिएको छ। 

काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको ‘स्केचिङ एन्ड स्कप्चर’ तालिमबाट विद्यार्थीले बनाएका कलाकृतिको प्रदर्शनी थालिएको हो। 

प्रतिष्ठानको कार्यालय नक्सालमा प्रदर्शनी उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप कार्यक्रम गरिएको बताए। 

उनले शिक्षा र सीप, कला र सिर्जनाबीच अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताए।  कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताए।

उनले महानगरका नौ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीहरूले तयार गरेका एक हजार दुई सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरूमा गाह्रो देखिए पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताए। “कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद छ”, उनले भने।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताए। उनले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिए।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको बताइन्।

यही वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्नराज्य मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीहरूले सिर्जना गरेका कलाकृति राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.