विचार

श्रीकृष्ण संसारकै पहिलो मनोचिकित्सक
SHARES

साउन १३, २०७४
    • डा. केके अग्रवाल-

    हजारौँ वर्षअघिको घटना हो।

    एकजना राजकुमार, जो एक कुशल योद्धा थिए। परिस्थिति यस्तो आइपर्‍यो, ती राजकुमारले आफ्नै वंशका दाजुभाइसँग लडाइँ गर्नुपर्ने भयो। उनी ठूलो चिन्तामा परे। आफ्नै वंशजसँग कसरी लड्ने! राजकुमारको द्विविधा चिर्ने काम गरे एकजना मनोविद्ले। मनोपरार्शदाताले बारम्बार सम्झाएपछि ती राजकुमार ‘धर्म र नैतिकताको निम्ति’ अन्ततः आफ्नासँग लड्न राजी भए।

    यो हजारौँ वर्षअघिको घटना हो। न त्यतिखेर फ्रायडको जन्म भएको थियो, न त ‘मनोचिकित्सा’ शब्दको जन्म नै।

    कथाका ती राजकुमार थिए, पाण्डुपुत्र अर्जुन। ती मनोचिकित्सक थिए– श्रीकृष्ण।

    यसरी हेर्ने हो भने कृष्ण संसारकै पहिलो मनोचिकित्सक हुन्, जसले धैर्य र तर्कको बलमा अर्जुनलाई लडाइँका लागि राजी गराए। सो क्रममा कृष्ण र अर्जुनबीच भएको संवादमा सात सय श्लोक छन्, जसलाई हामी ‘मद्भगवद् गीता’ भन्छौँ। कृष्णार्जुन संवाद नै भारतवर्षमा मनोचिकित्साको आरम्भविन्दु हो, जुन संवाद अठार दिन लामो महाभारतको लडाइँ सुरु हुनुभन्दा ठीक अगाडि उनीहरूबीच भएको थियो।

    विचार निर्माणको यो प्रक्रियामा सबै विचार परिपक्व हुन्छन् भन्ने छैन। मस्तिष्कले उत्पादन गर्ने सबै किसिमका विचारलाई बुद्धिले ठीक तरिकाले पर्गेल्न सक्छ भन्ने पनि हुँदैन। त्यसैले कतिपय विचारहरू तरल अवस्थामा रहिरहन्छन्। ज्ञानको अभावमा बुद्धिले पर्गेल्न सक्दैन र तिनले ठोस आकार ग्रहण गर्न पाउँदैनन्।

    अब एउटा प्रश्न उठ्छ, ऊ जमानामा मान्छेमा देखिने मानसिक समस्याको हल कसरी गरिन्थ्यो होला? मानसिक विषादको उपचार कसरी हुन्थ्यो होला? उतिबेला मनोचिकित्सकहरू थिएनन् भन्दैमा मान्छेहरूमा डिप्रेसन नै थिएन भन्न त मिलेन। मान्छेहरूले डिपे्रसनलाई कसरी बुझ्थे होलान्? त्यस्ता मानसिक चुनौतीसँग कसरी लडिन्थ्यो होला?

    हाम्रा धार्मिक ग्रन्थहरू राम्ररी नियाल्ने हो भने यी प्रश्नहरूको जवाफ पाइन्छ। महाभारत तिनैमध्येको एक हो, जहाँ पात्रहरूको मनस्थितिको मिहिन चित्रण गरिएको छ। शकुनीलाई नै हेरौँ न, कसरी उनमा त्यतिविघ्न दुष्टता पैदा भयो होला? किन कसैले उनको दुष्टतामाथि लगाम लगाउन सकेन?

    कौरव राजकुमार दुर्योधनलाई नै हेर्नोस्, उनको अहंकारलाई हेर्नोस्। दुर्योधन जान्दथे– अर्जुन वा भीम उनीभन्दा कैयौँ गुणा क्षमतावान् छन्। उनलाई थाहा थियो कि अर्जुन आफूभन्दा कति गुणवान् छन्। दुर्योधनको मनमा पैदा भएको यही हीनताले नै उनलाई त्यस्तो अहंकारी बनायो। उनको व्यक्तित्व र चरित्र निर्माणको पछाडि यही हीन भावनाले काम गरेको छ। यो त्यही हीनता हो, जसले दुर्योधनलाई पाण्डुपुत्रसँग लड्ने हदसम्म उद्वेलित पार्‍यो। त्यसपछि के भयो? हामीलाई थाहा छ– धर्मरक्षाको लागि ‘महाभारत’ भयो।

    यहाँ रोचक कुरा छ। अर्जुन र दुर्योधनबीचको मनोभावनामा धेरै कुरा लुकेको छ। अर्जुनको विचार र व्यक्तित्व तथा दुर्योधनको विचार र व्यक्तित्व निर्माणको प्रक्रियालाई हेरौँ। अर्जुनको पछाडि श्रीकृष्ण थिए, जसले अर्जुनको द्विविधा र विषादलाई चिर्ने काम गरे। कृष्णकै परामर्शका कारण अर्जुन आफ्नो कर्तव्यप्रति प्रष्ट बने। उनको संशय हल भयो। तर दुर्योधनलाई परामर्श दिने को थियो?

    यो मान्नै पर्छ कि त्यतिखेरका मान्छेहरूलाई डिप्रेसनको बारेमा धेरै कुरा थाहा थिएन। ग्रामीण वातावरण थियो। हरियाली थियो। खोलानाला थिए। जताततै मृग डुलिरहेका हुन्थे। मयुर नाचिरहेका हुन्थे। मान्छेको मनलाई वातावरणले नै शान्त राख्थ्यो। वातावरण स्वयंमा प्राकृतिक चिकित्सा अन्तर्निहित थियो। तर समय त्यस्तै रहिरहेन। प्रकृति त्यस्तै रहिरहेन। आज धेरै थोक बदलिएको छ।

    गीतालाई आज धेरै मान्छेले अध्यात्मिक पथप्रदर्शक मान्छन्। प्रखर दार्शनिकहरू पनि गीताको महत्त्वलाई स्वीकार्छन्। यो मनोचिकित्सकहरूले पनि ध्यान दिनुपर्ने विषय छ। मान्छेभित्रका अवसाद, ऐठन, तनाव, अनाहक पसिना निस्किइरहने हत्केलाहरू, मनमा कुरा खेलिरहने परिस्थितिहरू, जसलाई हामी मेडिकल टर्ममा ‘प्यानिक डिप्रेसन’को संकेत मान्छौँ, ती हरेक स्थिति कृष्णार्जुन संवादको अठार अध्यायमा समेटिएका छन्।

    आजको मेडिकल अनुसन्धानले मान्छेको स्नायु र व्यवहारसँग सम्बन्धित चार सयभन्दा धेरै प्रकारका मानसिक रोगहरू पत्ता लगाएको छ। दुःखी हुुनु, चिन्तित हुनु, डराउनु, द्विविधामा पर्नु, बिर्सनु आदि कुराहरू अत्यन्तै सामान्य हुन्। यस्तो अनुभव सबैसँग हुन्छ। तर जब मान्छेका यस्ता भावनाहरू उसको दैनिक क्रियाकलापमा नै प्रभाव पार्ने हदसम्म विकसित हुन्छन्, तब भन्नैपर्ने हुन्छ, उक्त मान्छे मानसिक रूपले अस्वस्थ छ। आज मान्छेहरू यस्तरी आफ्नै भावनाको सिकार बनिरहेका छन् कि तिनको खास समस्या के हो भनेर पत्ता लगाउन चिकित्सकलाई पनि धौधौ हुन्छ।

    तर जे होस्, आजको चिकित्सा विज्ञानले त्यस्ता विधि र औषधिहरू पत्ता लगाइसकेको छ, जसको मद्धतले मानसिक समस्या समाधान गर्न संभव भएको छ। चिकित्सकका अनुसार विधि र प्रक्रिया फरक होलान्, तर केही दशकयता यो क्षेत्रमा अभुतपूर्व प्रगति भएको छ।

    हाम्रा वेदहरूलाई मान्ने हो भने दिमाग भनेको चित्तको एउटा सहायक उपकरण मात्रै हो। हाम्रा धर्मग्रन्थहरूमा त्यस्ता प्रशस्त कुराहरू छन्, जसमा चित्तलाई शुद्ध र शान्त राख्ने उपायहरूको वर्णन गरिएको छ। यजुर्वेदले मष्तिष्कलाई चेतनाको संवाहक भनेको छ। मष्तिष्कबाट विचार पैदा हुन्छ र बुद्धिले त्यसको विश्लेषण गर्छ, फिल्टर गर्छ। मस्तिष्कमा पैदा हुने प्रारम्भिक विचार राम्रा पनि हुन सक्छन्, नराम्रा पनि हुन सक्छन्। अहंकारको स्रोत पनि मस्तिष्क नै हो। त्यसैले हाम्रो बुद्धिले त्यस्ता विचारको विश्लेषण कसरी गर्छ भन्नेमा सबै कुरा निर्भर हुन्छ। किनकि बुद्धिबाट प्रशोधित भएर आएका विचारहरू नै हामीले व्यवहारमा उतार्छौं। त्यही व्यवहार हाम्रो बानी बन्छ। त्यही बानी हाम्रो व्यक्तित्व बन्छ।

    तपाईं जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ।

    विचार निर्माणको यो प्रक्रियामा सबै विचार परिपक्व हुन्छन् भन्ने छैन। मस्तिष्कले उत्पादन गर्ने सबै किसिमका विचारलाई बुद्धिले ठीक तरिकाले पर्गेल्न सक्छ भन्ने पनि हुँदैन। त्यसैले कतिपय विचारहरू तरल अवस्थामा रहिरहन्छन्। ज्ञानको अभावमा बुद्धिले पर्गेल्न सक्दैन र तिनले ठोस आकार ग्रहण गर्न पाउँदैनन्। ती तिनै विचार हुन्, जसमा हामी घोत्लिइरहन विवश हुन्छौँ हामी। त्यस्ता विचारले कहिलेकाहीँ सकारात्मक प्रतिफल पनि दिन्छन्, तर प्रायचाहिँ हामीलाई निराशा र अवसाद्को स्थितिमा धकेलिदिन्छन्।

    अवसादको अवस्था भावनामा मात्रै सीमित रहँदैन, त्यसले शरीरमा आक्रमण गर्न थाल्छ। रिस उठिरहनु, मान्छे आपराधिक कर्ममा सामेल हुनु, उच्च रक्तचाप हुनु, मुटुसम्बन्धी समस्या देखिनु र हृदयाघातसम्म हुनु यसैका परिणाम हुन्।

    वैदिक शास्त्रहरू हाम्रा लागि फलदायी हुन सक्छन्। तिनले हामीलाई मन, मष्तिष्क र अहंकार आदिमाथि आत्मनियन्त्रण कायम गर्ने विधि सिकाउँछन्। भगवान शिवलाई नै हेरौँ न! ‘एङ्गर म्यानेजमेन्ट’ अर्थात रिसमाथि कसरी नियन्त्रण पाउन सकिन्छ, शिवबाट सिक्न सक्छौँ। जब तपाईंलाई रिस उठ्छ, रिसलाई घाँटी दबाउनुहोस्, बाहिर निस्कन नदिनुहोस्।

    हेर्नुहोस्, शिवले कसरी नकारात्मक विचारको विषलाई नीलकण्ठको रूपमा पचाइदिए। त्यसको केही घण्टा वा समयपछि त्यस विषयमा ठण्डा दिमागले सोच्नुहोस्, के गर्दा ठीक हुन्छ भनेर। शिवको टाउकोमा हेर्नुस्, गंगा बगिरहेकी छन्, चन्द्रमा झलमलाइरहेको छ, ती दुवै शीतलताका प्रतीक हुन्।

    यसरी हाम्रा वैदिक शास्त्रहरूले हामीलाई भावनामाथि विजय प्राप्त गर्ने प्रतीकात्मक उपायहरू सिकाएका छन्। तपाईं सोच्नोस्, दुर्योधनले आफ्नो इष्र्यालु भावनामाथि र शकुनीले आफ्नो दुष्टतामाथि विजय प्राप्त गरेको भए के हुन्थ्यो? सायद महाभारत नै भिन्दै हुन्थ्यो।

    तर दुर्भाग्य! त्यसो भएन।

    ('साइकोथेरापी इन द टाइम अफ द वेदास' शीर्षकमा प्रकाशित  अग्रवालको यो आलेख 'दइक्वेटरअनलाइन डट को डट इन' बाट  पवनराज पौडेलले भावानुवाद गरेका हुन्।)

     

     

डा. केके अग्रवाल

अग्रवाल भारतीय मेडिकल एसोसिएसनका अध्यक्ष हुन्।
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]