|

काठमाडौं : पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालसँग गठबन्धन गरेको संघीय समाजवादी फोरमभित्र गठबन्धनको विरोध भएको छ।  काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुले नयाँशक्ति नेपालसँगको गठबन्धनले आफूहरुलाई भने घाटा भएको बताएका छन्। 

उनीहरुले संघीय समाजवादी फोरम नेपालले प्राप्त गरेको चुनाव चिन्ह नयाँ शक्ति पार्टी नेपालले प्रयोग गर्न पाउँदा उसले राम्रो मत हासिल गरेको बताएका छन्। 'हामीले सोचेको जस्तो परिणाम चुनावमा आउन सकेन। हाम्रो पार्टीले प्राप्त गरेको जुन चुनाव चिह्न थियो (हातले समातेको मसाल), त्यो चिह्नका कारण नयाँ शक्तिलाई फाइदा भएको कुरा बैठकमा केन्द्रीय सदस्यहरुले उठाउनुभएको छ' केन्द्रीय सदस्य गंगा थापाले भने।

 

टिकट वितरणका क्रममा भएको कमी कमजोरीका कारण समेत केही ठाउँमा संघीय समाजवादी फोरमले चुनाव हारेको केन्द्रीय सदस्यहरुले बताएका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सम्भावित उम्मेदवार रजतप्रताप साहलाई उम्मेदवार नबनाई संघीय समाजवादी फोरमले अभयप्रताप साहलाई टिकट दिएको थियो। पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा चुनाव लडेका रजतप्रताप अहिले कृष्णनगर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। 

पहिलो चरणको निर्वाचन १ सिट पनि नजितेको संघीय समाजवादी फोरमले दोस्रो चरणको निर्वाचन ८ सिट जितेको छ। नयाँ शक्ति नेपालले भने पहिलो चरणको चुनावमा रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा मात्र जित हासिल गरेको छ। काठमाडौंको सिनामंगलमा जारी बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरुले रिपोर्टिङ गरेका छन् भने बिहीवार बैठकमा प्रस्तुत सांगठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ।

शुक्रबारसम्म चल्ने बैठकले स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोज २ गते हुन गइरहेको निर्वाचनमा कसरी जाने भनेर रणनीति बनाउने केन्द्रीय सदस्य थापाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.