|

काठमाडौं : दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा भत्किएका चार हजार एक सय ९९ सरकारी संरचनाको पुनर्निर्माणमा सवा १३ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। द्वन्द्वकालमा ११ हजार नौ सय ७५ भौतिक संरचना क्षतिग्रस्त भएका थिए।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका अनुसार अहिलेसम्म सरकारी संरचनाको पुनर्निर्माणमा १३ अर्ब २९ करोड ९६ लाख खर्च भएको छ। माओवादी द्वन्द्व सुरु भएको १ फागुन ०५२ देखि विस्तृत शान्तिसम्झौता भएको ५ मंसिर ०६३ सम्म भत्किएका संरचनाको मात्र पुनर्निर्माण गरिएको हो। बाँकी सात हजार सात सय ७६ संरचनाको पुनर्निर्माण स्थानीय तहले गर्ने शान्ति मन्त्रालयमातहत रहेको द्वन्द्वउत्तर परियोजनाका इन्जिनियर रामाशिष साहले बताए। ती संरचनाका लागि १४ अर्ब ७० करोड २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

शान्तिप्रक्रिया सुरु भएपछि सरकारी–विद्रोही दुवै पक्षबाट भत्किएका संरचनाको पुनर्निर्माण सुरु गरिएको थियो। सबैभन्दा धेरै विद्यालय, प्रहरी चौकी, गाविस भवन, सरकारी कार्यालय भत्किएका थिए।

बाँकी संरचनाको पुनर्निर्माण अब स्थानीय तहले गर्ने

द्वन्द्वकालमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण अब स्थानीय तह आफैँले गर्ने शान्ति मन्त्रालयमातहतको द्वन्द्वउत्तर परियोजनाका इन्जिनियर रामाशिष साहले बताए। ‘चालू आर्थिक वर्षका लागि द्वन्द्वकालमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न बजेट सरकारले विनियोजन गरेको छैन,’ साहले भने, ‘धेरै अधिकार स्थानीय तहलाई दिएकाले बजेट पनि उतैतिर विनियोजन गरेको छ।’ अर्थ मन्त्रालयले द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न सीधै स्थानीय तहलाई अधिकार दिएको उनले बताए। आफ्नो क्षेत्रमा पर्ने भत्किएका भौतिक संरचनाको स्थानीय तहले पुनर्निर्माण गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.