|

सुर्खेत : चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले प्रत्येक वडा कार्यालयका लागि मोटरसाइकल किन्ने निर्णय कार्यान्वयन गर्ने बताएका छन्। जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शाहीले जनताकै सहजताका लागि यस्तो निर्णय गरिएको बताए। 

चौकुने गाउँपालिकामा सडकको अवस्था राम्रो छैन। हिलाम्ये सडकमा यात्रा गर्न स्थानीयहरु बाध्य छन्। त्यस्तै गाउँपालिकामा एम्बुलेन्स समेत छैन। यस्तो अवस्थामा जनप्रतिनिधिले आफ्ना लागि मोटरसाइकल किन्ने निर्णय गरेपछि उनीहरुको चौतर्फी विरोध भएको थियो। 

तर अध्यक्ष शाहीले मोटरसाइकल किन्ने निर्णयका विषयमा गलत प्रचार गरेर भ्रम छरिएको बताए। ‘चौकुनेको विकटता र भौगोलिक अवस्था हेर्दा, जनप्रतिनिधिका लागि मोटरसाइकल अत्यावश्यक छ, जनताकै गुनासा सुन्न छिटो होला भनेर हामीले मोटरसाइकल किन्ने निधो गरेका थियौँ,’ उनले भने।

उनले एम्बुलेन्स र मोटरसाइकल खरिद गर्ने विषय फरक-फरक रहेको बताए। ‘वडाका लागि मोटरकसाइकल खरिद गर्ने निर्णयलाई गाउँपालिकामा एम्बुलेन्स नहुनुसँग जोडेर हामीलाई बदनाम गर्न खोजियो,' उनले भने।

गाउँपालिकाले एम्बुलेन्स खरिदको प्रक्रिया समेत अघि बढाएको उनले जानकारी दिए। त्यस्तै  हिलाम्ये र साँघुरा सडकको स्तरोन्नी गर्दै लगिने बताए। 

'हरित चौकुने, उज्यालो चौकुने'

गाउँपालिका अध्यक्ष शाहीले ‘हरित चौकुने, उज्यालो चौकुने गाउँपालिका’ योजनालाई प्राथमिकतामा राख्दै गाउँसभाको पहिलो बैठक सम्पन्न भएको बताए। उनले भने, ‘चौकुने गाउँपालिकामा विद्युत पहुँचमा छैन। हामीले उज्यालो चौकुनेका लागि ३ वटा विकल्प अगाडि ल्याएका छौँ। तत्कालका लागि सोलारबाट उज्यालो चौकुने, त्यस्तै अर्को योजनाका रुपमा वेगखोली लघु जलविद्युत योजना निर्माण गर्ने योजना छ।’

उक्त योजना सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष शाहीले जानकारी दिए। यस्तै घोग्रो खोला लघुजल विद्युत आयोजना निर्माण गर्न १३ लाख रकम छुट्याईएको उनले बताए।

उनले  दिर्घकालका लागि विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने योजना गाउँसभाले पारित बताए। यस्तै, ६८८ मेगावाट उत्पादन हुने गरी सञ्चालित बेतान हाइड्रो आयोजना काम प्रारम्भ भएको ६ वर्षभित्र काम पूरा गर्ने तयारी थालिएको अध्यक्ष शाहीको भनाइ छ। 

चौकुने गाउँपालिकालाई हरित चौकुने बनाउने योजना पनि आफुहरुको प्राथमिकतामा परेको उनले बताए।  शाहीले खाली रहेका डाँडाहरुमा वृक्षारोपण गर्ने र वन पैदावारबाट लघु उद्यम सिर्जना गर्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.