|

धनकुटा : जिल्लाका तीन वटा माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएका छन्। शिक्षा विभागका र जिल्ला शिक्षा कार्यालय धनकुटाका प्रतिनिधि रहेको एक टोलीले स्थलगत अध्ययन गरी चौबीसे गाउँपालिका राजारानीको पूण्य मावि, महालक्ष्मी नगरपालिका जितपुरको जनता मावि र धनकुटा नगरपालिका गोकुण्डेश्वरको बालमन्दिर माविलाई नमुना विद्यालयको रुपमा छनोट गरेको हो।

शिक्षा मन्त्रालयको सचिवस्तरीय बैठकले असार १५ र २५ गते ती विद्यालयलाई नमुना विद्यालयको रुपमा छनोट गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। शिक्षा विभागले मुलुकभरीबाट एक सय ९८ विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको छ।

विद्यालयहरुको भौतिक संरचना र निजी जग्गा, विद्यार्थी संख्या, एसइईई परीक्षाको नतिजा, विद्युत सेवाको उपलब्धता, इन्टरनेटको पहुँच लगायतका अवस्थालाई मुल्याङ्कन गरेर शिक्षा कार्यालयले जिल्लाका सबै दुई सय ९७  विद्यालयहरुको विवरण शिक्षा विभागमा पठाएको थियो। उक्त प्रतिवेदन र स्थलगत अध्ययनपछि नमुना विद्यालय छनोट गरिएको विद्यालय निरीक्षक फाल्गुनी काफ्लेले बताए।

तीन नमुना विद्यालयमध्ये पहिलो चरणमा पुण्य मावि र जनता माविले अनुदान वापत २८ लाख ५० हजारका दरले रकम पाएका छन्। उक्त रकम विद्यालयले गुरु योजना निर्माण गरेपछि मात्र खर्च गर्न पाउनेछन्। बालमन्दिर माविलाई आगामी आर्थिक वर्षदेखि मात्र अनुदान उपलब्ध हुने विद्यालय निरीक्षक काफ्लेले बताए।

२०२२ सालमा स्थापना भएको जनता माविमा बाल विकासदेखि मावि तहसम्मको पठन पाठन भइरहेको छ। बाल विकासदेखि  ३ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ। सो विद्यालयमा गत शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा पशुविज्ञान विषय पठन पाठन सुरु गरिएको प्रधानाध्यापक नगेन्द्र भट्टराईले बताए। कक्षा ११ र १२ मा मानविकी, शिक्षा, वाणिज्य संकाय विषयको पढाई हुदै आएको छ।

२०११ सालमा स्थापना भएको पुण्य माविमा हाल कक्षा १२ सम्म पठनपाठन भएको छ। होटल म्यानेजमेन्ट पढाइ हुने जिल्लाको एकमात्र यस विद्यालय गत वर्ष ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्डबाट पुरस्कृत पनि भएको थियो। हाल सो विद्यालयमा विज्ञान, होटल म्यानेजमेन्ट, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पठन पाठन भइरहेको प्रधानाध्यापक लोकबहादुर राईले बताए। बालविकासदेखि ५ कक्षासम्म अंग्रेजी माध्यममा पठन पाठन हुने सो विद्यालयमा कक्षा ८, ९ र १० मा कम्प्युटर विज्ञान पनि पढाइ हुन्छ।

वि.सं. १९८९ मा स्थापना भएको बालमन्दिर माविमा हाल गोकुण्डेश्वर क्याम्पस सञ्चालन पनि गरिएको छ। व्यवस्थापन संकायमा स्नातकसम्म पढाइ हुने यस विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन भइरहेको विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले बताए। सो विद्यालयमा कक्षा ६, ७ र ८ मा कम्प्युटर विज्ञान पनि पढाइ हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.