|

पर्वत ः जिल्ला समन्वय समिति चयन गर्नका लागि साउन २० गते तोकिएको म्याग्दीको निर्वाचन रोमाञ्चक बन्ने भएको छ। ६ वटा स्थानीय तह रहेको म्याग्दीमा नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १२ जनाले मतदान गर्न पाउने छन। म्याग्दी जिल्ला समन्वय समितिमा सभापतिसहित ९ सदस्य हुने छन्। 

निर्वाचनमा स्थानीय तहको प्रमुख र उपप्रमुखले मात्र मतदान गर्ने अधिकार रहेपछि म्याग्दीमा यो निर्वाचन रोमाञ्चक हुने देखिएको छ। मतदातामध्ये ६ जना कांग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन्। बेनी नगरपालिकाको उपप्रमुख निर्वाचित राप्रपाकी सञ्जु बरुवालको मतका कारण जिल्ला समन्वय समितिको निर्वाचन रोमाञ्चक बन्ने भएको हो।

राप्रपाकी बरुवालले सहकार्य गरे कांग्रेस स्वतः विजयी हुनेछ। बरुवाल एमालेसँगको सहकार्यमा नगरपालिकाको उपप्रमुख बनेकी हुन्। बरुवालको मत आफ्नो पक्षमा पार्न कांग्रेसले निकै कसरत गरिरहेको पार्टीकै नेताहरुले बताएका छन्। बरुवालले  एमालेलाई मतदान गरे दुवैको मत बराबर हुनेछ।

एमाले बरुवाललाई जोगाएर नगरपालिकाको निर्वाचनमा जस्तै उनैसँग सहकार्य गर्ने गरी कसरत गरिरहेको छ भने कांग्रेसले उनलाई आफ्नो पक्षमा ल्याउने प्रयासमा छ। जिल्ला समन्वय समिति निर्वाचनमा सभापतिका लागि कांग्रेसको तर्फबाट लोकबहादुर मल्ल लड्दैछन्। उनी मालिका गाउँपालिका–१ निस्कोटका वडा सदस्य हुन्। यसैगरी, एमालेको तर्फबाट जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी लड्दैछन्। केसी हाल रघुगंगा गाउँपालिका–२ का वडा सदस्य हुन्। 

जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार साउन १६ गते मतदाता नामावली प्रकाशन, १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.