|

काठमाडौँः मध्यपश्चिमको विकट पहाडी जिल्ला मुगुकी युवती रविना रोकाया आफ्नो पहिलो उपन्यास ‘धर्मकन्या’ लिएर नेपाली साहित्यक्षेत्रमा प्रवेश गरेकी छन्। उनको नवीनतम् उपन्यास ‘धर्मकन्या’को शनिबार राजधानीमा आयोजित कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौतम र वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजालले संयुक्त रूपमा विमोचन गरे। 

विमोचनपछि बोल्दै मन्त्री गौतमले विकट भएर पनि संसारकै प्रसिद्ध र सुन्दर रारातालले सुशोभित मुगु जस्तो भूमिबाट रविनाले सुन्दर कृति लेखेकोमा प्रशंसा गरे। उनले कवि तथा साहित्यकारहरूले साहित्यका माध्यमबाट आफ्नो थातथलोलाई चिनाउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले आफूले मुगुमा पुगेर स्वास्थ्य शिविर चलाएको स्मरण गर्दै त्यहाँको भूगोलबाट आएकी रविना जस्ता साहित्यकारको    कृति विमोचनमा सहभागी हुन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए। उनले रविनालाई बधाई दिँदै आगामी दिनमा पनि मुगुको प्रकृति, संंस्कृति र जनजीवनलाई विषय बनाएर उपन्यास लेख्न सुझाव दिए।

कार्यक्रम संयोजक प्राज्ञ एवं कवि वियोगी बुढाथोकीले शिवपुरी साहित्य समाज र शिवपुरी साहित्यिक पत्रिकाले विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई वर्सेनि सम्मान गर्नुका साथै स्रष्टाका पुस्तक प्रकाशन र विमोचन जस्ता कार्यक्रमहरूको आयोजना गर्ने गरेको बताए। उनले भने, ‘आज मुगुकी स्रष्टाको कृति विमोचन कार्यक्रमको आयोजनण गर्न पाउँदा हर्ष लागेको छ।’

कार्यक्रममा शंकर भारती, शशि थापा पण्डित, रणबहादुर सेजुवाल, हस्तबहादुर मल्ल र खड्गबहादुर शाहीले कृतिबारे बोलेका थिए। उपन्यासकार रविना रोकायाले कार्यक्रममा उपन्यास लेखनको अनुभव बताएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.