|

दमक : झापाको दमक र मोरङ पथरी शनिश्चरेमा २६ वर्षदेखि बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुले शरणार्थी समस्याको दीर्घकालीन समाधानको माग गर्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्।

उनीहरुले आफूहरुले विगत लामो समयदेखि भोग्दै आएको समस्याको दीर्घकालीन समाधानको माग गर्दै सोमबार पथरीशनिश्चरे र बेल्डाँगी शिविर दमकमा शान्तिपूर्ण र्‍याली निकालेका हुन्। नेपाल सरकारले शरणार्थी समस्या समाधानको माग गर्दै उनीहरुले र्‍याली निकालेका हुन्।

र्‍यालीमा उनीहरुले समस्या समधानको बाटो खोज्न र शरणार्थीको पनि मानव अधिकारको सम्मान गर्न माग गरिएका प्ले कार्डहरु बोकेका थिए। उनीहरुले र्‍यालीमा कुनै नारा भने लगाएका थिएनन्। आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि शरणार्थीको समस्या समाधानमा कसैले पनि ध्यान नदिएको उनीहरुको गुनासो छ। आफूहरुको दीर्घकालिन समस्या समाधान नभएसम्म निरन्तर आन्दोलन गरिरहने उनीहरुले बताए।

र्‍यालीपछि भएको सभामा बोल्दै क्याम्प व्यवस्थापन समिति सचिव टीकाराम रसाइलीले आफ्ना मागप्रति गम्भीर भइदिन सबै सम्बन्धित निकायसँग माग गरे। उनले आफूहरुको एउटा टोली काठमाडौंमा गएर विभिन्न सरकारी निकाय, मन्त्री र राजनीतिक दलका प्रमुखहरुलाई आफ्ना मागको विषयमा ज्ञापनपत्र बुझाइरहेको बताए।

उनले भने, ‘हामीले कहिलेसम्म यस्तो समस्यानै समस्याको जिन्दगी बिताउनुपर्ने? हामी यहाँ आएर बसेको २६ वर्ष बितिसक्यो, हाम्रो समस्या दीर्घकालीन रुपमा कहिले समाधान हुन्छ?’ उनले शरणार्थीसम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पटक–पटक आफूहरुलाई दिएको सेवा सुविधासमेत कटौती गर्दै गएको बताए।

रसाइलीले आफूहरुको पहलिो माग भनेको स्वदेश फर्कन चाहने शरणार्थीलाई स्वदेश फर्कने वातावरण मिलाइदिनुपर्ने बताए। उनले भने, ‘धेरै शणार्थीहरु स्वदेश फर्कन चाहन्छन्, उनीहरुलाई स्वदेश फर्काइनुपर्छ।’ आफूहरुसँग भएको सम्झौताविपरीत तेस्रो मुलुक पुनर्वासले मात्र स्थान पाएको भन्दै उनले आपत्ति जनाए।

यस्तै, शिविरका पूर्वसचिव चिरञ्जिबी खालिङ राईले स्वदेश फर्कन नचाहने र विदेश जान नचाहनेलाई स्थानीयकरण गरि नागरिकता उपलब्ध गराउनुपर्ने बताए। उनले आफूहरुको कुनै माग पूरा हुन नसकेको अवस्थामा आफूहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग गरे।

उनले भने, ‘हामीले पटक–पटक यही माग गर्दै आएका छौँ, यदि हाम्रो समस्या समाधान गर्न सक्नु हुन्न भने हाम्रो समस्यालाई अन्तर्राष्ट्रिकरण गर्नुहोस्।’ उनले अझ धेरै समस्या त परिचयपत्र नपाएका शरणार्थीको रहेको बताए। उनले भने,‘ सबै भन्दा धेरै समस्या त दर्ता विहीन शरणार्थीलाई छ, दर्ता विहीन शरणार्थीहरु १६ सय भन्दा माथि छन्, त्यो मध्ये पनि १ हजार भन्दा माथिले त फोटो खिचाएर पनि परिचयपत्र पाएका छैनन्’।

पुनर्वासले एक्लिएकाको बिजोग

तेस्रो मुलुक पुनर्वासले धेरैको परिवारमा विछोड ल्याएको छ। आधा परिवार पुनर्वासमा तेस्रो मुलुक पुगेका छन् भने आधा नेपालमा छन्। शरणार्थी शिविर बेल्डाँगी क्याम्पमा बसोवास गर्दै आएका ७५ वर्षीय लिलाधर आचार्य अहिले एकलिएका छन्।

उनको श्रीमती र छोरा छोरी सबै पुनर्वासका क्रममा विदेशिए। तर, उनी भने भुटान फर्कने आशामा अझै पनि शिविरमै छन्। उनी भन्छन्, ‘मेरो भुटानमा धेरै जग्गा छ, आफ्नै घरमा गएर बस्ने मन छ, म एक्लै भए पनि भुटानै जान्छु।’ उनले आफ्नो श्रीमती अमेरिका गएको थाहासम्म नपाएको बताए।

 उनले भने, ‘मलाई त दमक जान्छु भनेर हिडेकी थिई, अमेरिका पुगिछ, एक्लै छु, बिरामी पनि छु, कसरी पकाएर खाने हो अब।’ उनले आफूमात्र होइन धेरैको परिवारमा आफ्नै जस्तो समस्या रहेको सुनाए।

परिचयपत्र नहुँदा उस्तै समस्या

बेल्डाँगी शिविर दमकका मधुलाल चापागाईं सन् १९९५ मा भुटानबाट यहाँ आएदेखि निरन्तर शिविरमा छन्। तर, उनीसँग अहिले शरणार्थी हो भन्ने एउटा पनि कागज छैन। परिचय पत्रविहीन छन् उनी। उनी भन्छन्,

‘परिचयपत्रका लागि फोटो त खिचाएँ तर, अहिलेसम्म परिचयपत्र पाएको छैन।’ आफ्नो भुटान हुँदाको परिचय पत्र देखाउँदै भन्छन्, ‘हाम्रो परिवार सबै अमेरिका पुगिसके म चाँहि एक्लै यहाँ छु।’ फोटो खिचाएर पनि परिचयपत्र नपाएका अर्का शरणार्थी खडानन्द भण्डारीले आफूहरुको समस्या तत्काल समाधान गर्न माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.