|

कञ्चनपुरः महाकाली अंचल अस्पतालमा संचालनमा ल्याइने भनिएको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सकको अभावमा बन्द गरिएको छ। करिव ७० लाख रूपैयाँको लागतमा उपकरणहरू किनेर ल्याइएको भए पनि आवश्यक जनशक्ति नहुँदा सेवाग्राहीलाई अनुभूति हुने गरी संचालनमा आएका छैनन्। 

अस्पतालले ‘सघन उपचार कक्ष’ भनेर बोर्ड त टाँसेको छ तर कोठामा भने ताल्चा लगाइएको छ। 

नेपाल सरकार र महाकाली अंचल अस्पताल विकास समितिको प्रयासमा आर्थिक वर्ष २०७२÷०७३ मा सम्पूर्ण काम सिध्याएर तत्कालीन समयमा दरबन्दीमा भएका एक जना फिजिसियन चिकित्सकको सहयोगमा दुई महिनाजति संचालनमा ल्याइएको दाबी अस्पताल विकास समितिले गरे पनि नागरिकहरूले भने सेवा लिन नपाएको गुनासो गरेका छन्। 

अंचल अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहरा अल्पकालका लागि सघन उपचार कक्ष (आईसीयु) सेवा संचालनमा आएको दाबी गर्दै ‘विशेषज्ञ फिजिसियन नहुँदा र आवश्यक जनशक्तिको अभावका कारण सेवा अहिले बन्द गर्नुपरेको’ बताउन्छन्। 

बन्द रहेको आईसीयु सेवा संचालनका लागि पनि कुनै तह र तप्काबाट पहल नभएको नागरिक समाजका क्षेत्रीय संयोजक भवराज रेग्मीले जानकारी दिए। ‘आईसीयु सेवा नियमित संचालनका लागि अस्पताल विकास समिति र नेपाल सरकारसँग माग गरियो तर त्यसको कुनै सुनुवाइ भएन’, उनले भने। 

अहिले नयाँ उपकरणसहित आईसीयु सञ्चालन गर्ने तयारी भइरहेको अस्पत्ताल प्रशासनले बताएको छ। केही उपकरण खरिद गरेको पनि जनाइएको छ।

विगतमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालको निरीक्षणसमेत गरेर सेवा संचालन गर्ने र अस्पतालमा गुणस्तरीय सेवासहित आवश्यक दरबन्दी पठाउने आश्वासन दिएका भए पनि अहिलेसम्म अस्पताल अस्पताल जस्तो नभएको रेग्मीले गुनासो गरे। 

महाकाली अंचल अस्पतालमा उपकरणसहित ताल्चा लगाएर बन्द अवस्थामा राखिएको आईसीयु कक्ष संचालनका लागि अस्पताल विकास समितिले सरकारले एक जना फिजिसियन चिकित्सक, चार जना मेडिकल अफिसर र छ जना दक्ष तालिमप्राप्त नर्स उपलब्ध गराएको खण्डमा तत्काल संचालनमा ल्याउन सकिने अध्यक्ष बोहोराले बताए। 

१८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको महाकाली अंचल अस्पतालमा अहिले तीन जना चिकित्सकले मात्र सेवा दिइरहेका छन्।

यस क्षेत्रका नागरिकहरूले समान्य सुत्केरी सेवासमेत नपाएको अंचल अस्पतालमा जटिल खालका स्वास्थ्य समस्या लिएर आउने बिरामीलाई भारतका विभिन्न अस्पताल र नेपालकै अन्यत्र रिफर गर्ने गरिएको छ। महाकाली अंचल अस्पताल अहिलेलाई रिफर केन्द्रका रूपमा चिनिने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.