प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विचार

पैसाको बोटमा पुग्दा
SHARES

साउन १८, २०७४

    दुनियाँको सपनाको देश। अधिकांशले बुझेको पैसाको बोट अमेरिका पुगेपछिको पहिलो काम मार्बल स्ल्याबमा सुरु गरियो, त्यो पनि छोरीको सिफारिसमा;  नभए त, 'क्वाटर', 'पेनी' र ५ देखि एक सयसम्मका डलरको अनुहार नै चिन्नुपर्ने पहिलो पाठ सिक्ने बेलामा कसले काम दिने?

    काम गर्न जाँदा, त्यहाँको युनिफर्म लगाउनुपर्ने। टीसर्ट त पैसा नतिरी पाइयो तर खाकी रङको पाइन्ट त किन्नै पर्‍यो! वालमार्टमा गएर, सायद २८ डलरमा पाइन्ट किनेर ल्याइयो। त्यो २८ डलर पनि भर्खर अमेरिका पुगेको मानिसको लागि ठूलै रकम हुन्थ्यो।

    काम गर्न जान थालेँ। पहिलो दिन नै आइसक्रिम पार्लरको मालिकले एउटा बुकलेट पढ्न दियो, जसमा केके गर्ने; कुन रेसिपीमा के मिसाउनेदेखि लिएर आइसक्रिम खाने 'कोन' बनाउने तरिकासम्म लेखिएको थियो।

    काम थियो, आइसक्रिम किन्न आए भने बेच्ने, नभए 'कोन' बनाउनुपर्ने। 'कोन' बनाउन पनि उचित मात्रामा पानी र पिठो घोलेर, ठीक्क तापक्रममा राखेर आकार नदिने हो भने बिग्रिहाल्थ्यो। त्यो बनाउनु त ठूलो कुरा भएन,  एक दुइटा बिग्रिए वा डढे पनि बनाउन सिकी हालियो। पिठो घोल्ने ठीकै आकारका स्टिलका बाटाहरू पखालपुखुल पार्दा भने आँखाबाट आँसु झरझर बर्सिन्थे। लाग्थ्यो, जिन्दगीले ठूलै अन्याय गरेछ। भाग्य विधाताले छैठीको दिन भाग्य कोर्दा टुकीको अँध्यारोमा एउटा ठूलै पाटो केरेर हेर्नै नहुने वा पढ्नै नसकिने बनाइदिएछन् कि भनेजस्तो।

    हामी जन्मिएको घरमा अँध्यारो हुन्थ्यो। त्यहाँ सासाना प्वाल परेका झ्यालबाट चाहिनेजति प्रकाश कहाँ आउँथ्यो र जीवनका सबै पाटाहरू झलमल्ल हुने अपेक्षा राख्नू!
    अझ, छोराको मात्रै आवश्यकता ठानिएको त्यो समाजलाई छोरीको जन्मले पहिल्यै निराश बनाइसकेको हुँदो हो। त्यसैले मनग्यै उज्यालो छर्न टुकी बाल्ने तेल पनि कहाँ पाइयो होला र भावीले पनि भाग्यमा असल र सुखै सुखका कुरा लेखिदिऊन्!

    जे होस्, काम पाएको ठाउँमा 
    त्यति भाँडा पखालपुखुलसम्म पनि ठीकै थियो। तर जब टिनएजरहरूको भीड आइसक्रिम किन्न आउँथ्यो, तब अर्डर लिन प्रलय नै आएको जस्तो!
    अर्डर लिन दुइटा कुराले गाह्रो हुन्थ्यो- पहिलो, जिब्रो बटारेर बोलिने अंग्रेजी भाषा र दोस्रो, आइसक्रिमसँग मिसाउनुपर्ने अनेकौँ खालका सामग्रीहरू नचिनेर, नबुझेर। किनकि त्यहाँ बेचिने आइसक्रिम, विभिन्न स्वादका मात्रै नभई, यसरी मागिन्थ्यो, 'मे आई ह्याभ मसमेलो विथ बटर पिकान?' या 'मे आई ह्याभ पेस्ताचो विथ पिकन?' आदि आदि।

    त्यसको मतलब उनीहरूले मागेको फ्लेभरको आइसक्रिममा त्यहाँ भएका विभिन्न प्रकारका हाम्रोतिर तिहारमा खाइने जस्ता मसलाहरू, कुकिज, एमएनएम (एक खालको पिपरमेन्ट) आदि मिसाउनुपर्थ्यो। एक त, त्यस्ता सबै कुराको अंग्रेजी नाम थाहा नहुने, अर्को बाबुले खाए, न बाजेले, मसमेलो र अरू 'मेलो'बीचको भिन्नता नजानेको। यस्ता त्यस्ता कारणहरूले अति नै गाह्रो हुन्थ्यो।

    त्यसमाथि, छोरीले काममा सिफारिस गर्दा आमाले काम गर्न सक्छे भन्ने ठानेर अलि बढाइचढाइ नै गरिदिएकी हुनसक्छ। मालिकले मबाट अलि धेरै अपेक्षा गरेको थियो होला। त्यसबाहेक, ऊ मलाई काम नभएको बेला त्यो ब्रोसियर पढेर 'सिपालु' बनोस् भन्ने कामना गर्दथ्यो। तर म परेँ 'पिकान' र 'वालनट'को भेद छुट्याउन नसक्ने। त्यो त म आजको दिनसम्म पनि सक्दिनँ, दुवै उस्तैउस्तै लाग्छन्।

    काममा जान सुरु गरेको चार दिन मात्रै भएको थियो; सायद शनिबार थियो कि स्टोरमा एकदम भीड थियो। कारण, त्यो मलमा सिनेमा हल पनि थियो। सप्ताहान्तको समयमा सिनेमा हेर्न आउनेहरूको भीड र आइसक्रिम एकअर्काका पर्याय थिए। त्यसैले, सप्ताहान्तमा, मालिक पनि कामदारसँगै पसलमै हुन्थ्यो।
    यस्तैमा कसैले 'मे आई ह्याभ ओन बनाना बोट?' भनेर अर्डर गर्‍यो। मालिकले मलाई त्यो अर्डर बनाउन भन्यो। आफूले 'बनाना बोट'को सिधै अर्थ लगाउनुपर्दा, 'केरा' र 'डुँगा'बाहेक पढेको थिएन; कहाँको 'बनाना बोट' आइसक्रिमको कुरो जान्नू!
    त्यही पनि भित्तामा राखिएको बोर्डमा हेर्दै 'केरा' र 'डुँगा' बनाउने कोसिस गरेँ, ग्राहकको हातमा थमाएँ। ग्राहक थियो, भुक्लुक्कै रिस उम्रिएला जस्तो गरेर उभिइरहेको बीस नकाटेको ठिटो; पड्किइहाल्यो!

    'मैले बनाना बोट भनेको, जे पायो त्यही बनाएर दिने?' नाक र कान रातो, तातो बनाउँदै कड्कियो ऊ।

    उसलाई के थाहा कि उसको अर्डर बनाउने व्यक्तिलाई 'बनाना बोट' भनेको 'बाहुनको बाउले च्याउ खाओस् न स्वाद पाओस्' उखान जस्तै हो भनेर!

    उसलाई साम्य पार्दै मालिकले माफी माग्यो र उसको हातबाट त्यो आइसक्रिम लिएर डष्टबिनमा फ्यात्त फ्याँकिदियो। उसलाई मालिकले अर्को बनाएर सित्तैँमा दियो।

    अमेरिकामा ग्राहकको सन्तुष्टिलाई एकदमै ध्यान दिइन्छ। खाने ठाउँ होस् या अन्य सामान बेच्ने स्थान, राम्रो सेवा दिइएन भने अर्को पटक उनीहरू मात्रै नआउने होइन कि अरूलाई पनि नकारात्मक सन्देश फैलाइदिन्छन् भन्ने कारणले पनि अलिकति तलमाथि पर्नासाथ अति नम्रताका साथ माफी माग्छन्। खाना बेच्ने स्थानमा नि:शुल्क खाना दिएर पठाउँछन्। यसको कारण, अलि ठगठाग गरेर खान पल्केकाहरूले फाइदासमेत लिन्छन्।

    तर त्यहाँ त  मेरो गल्ती थियो, त्यसैले मालिकले आफ्नो ग्राहक रिझाउन सित्तैमा दिनै पर्‍यो।

    मेरो कारणले मालिकका दुइटा 'बनाना बोट'मा घाटा लाग्यो, जुन सामान्य आइसक्रिमभन्दा महँगो थियो।

    मालिक पाकिस्तानी  अमेरिकन थियो। भुतभुताउँदै हिन्दीमा मलाई सुनायो, 'मैले अर्डर लिँदादेखि नै हेरिरहेको थिएँ, तिमीले गलत बनाएको नि देखिरहेको थिएँ।'

    मेरो मनमा त्यो दिन काममा बसुन्जेल लागिरह्यो, बनाउँदै गल्ती गरेको देखेपछि पनि किन चुप लागेर बसिरहेको होला त नसिकाएर!

    अघिल्लो दिन पनि, 'तिमीले राम्रो गरिरहिछ्यौ, सिक्दै जाऊ' भनेर फुर्क्याउँदै थियो।

    मलाई के थाहा उसको मनमा ठूलै खिचडी पाकिरहेको छ भन्ने!

    बेलुका छोरी लिन आइन्। बसेको ठाउँबाट काम गर्ने स्थान अलि पर नै थियो। सार्वजनिक यातायातको साधन थिएन। काममा पुर्‍याउने र लिन आउने जिम्मा उनैको थियो।

    घर आएर खानासाना खाइयो। छोरी, छोरा, छोरीको भावी जीवनसाथी, सबै बसेर रमाइलो गफ गर्दागर्दै छोरीले भनिन्, 'मामु, छाड्दिस्यो त्यो काम, भइहाल्यो अरू नै खोजुँला!'
    यो मेरो कल्पनाबाहिरको कुरो थियो। काम सिक्नै पाएको छैन। काममा जान थालेको चार दिन मात्रै भएको थियो। भर्खर २८ डलर हालेर पाइन्ट किनेर ल्याएको छ, छुट्टै बसेपछि हरेक महिना अपार्टमेन्टको भाडा, फोन, बत्ती, पानी, खाना सबै कुराको लागि खर्च जुटाउनु छ; अहिल्यै छाड भन्ने के हो यस्तो!

    मैले, छोरीलाई खेर्न थालेँ, 'किन छाड्ने भन त?'
    बल्ल उनले जवाफ दिइन्, त्यो मालिक, जसले मलाई उत्साहित गराएको जस्तो गर्थ्यो, उसले, मेरी छोरीलाई भनेछ, 'आई डन्ट थिङ्क, योर मम क्यान वर्क!' अर्थात, 'मलाई लाग्दैन कि तिम्री आमाले काम गर्न सक्छिन्!

    बल्ल पो थाहा पाएँ, मालिकको मनमा दिउँसो पाकेको खिचडीको स्वाद!

    मेरी छोरीसँगको परिचयको कारणले मलाई कामबाट निकाल्न सिधै नसकेको उसलाई बहाना चाहिएको रहेछ र मैले गलत 'अर्डर' बनाएर दिँदासम्म पनि ऊ चुपचाप हेरिरहेको रहेछ!

    त्यस बखतको मेरो मनस्थिति... !

    काठमाडौँ हुँदा म आफूलाई जहाँ गएर जे पनि गर्न सक्छु भन्ने सोच्थेँ तर यहाँ... !

    फेरि, एक पटक वर्षने पालो त आँखाकै थियो; जुन मेरा लागि सस्तो र सर्वसुलभ थियो।

    स्थिति आफ्नो पक्षमा थिएन; टाउकै फुटाउँछु भने पनि समस्या जहाँको तहीँ रहन्थ्यो, त्यसैले समयलाई स्वीकार्नु नै पर्दथ्यो।

    भोलिपल्ट पाइन्ट किनेको २८ डलर पनि किन खेर फाल्नु भन्ने सोचियो। त्यसलाई धोएर वालमार्ट लगेर फिर्ता गरियो।

    यसरी 'पैसाको बोट'को देशमा मेरो पहिलो कामको जन्म र तत्कालै मृत्युसमेत भयो।

    क्रमश:…

     

अमृता लम्साल

स्वतन्त्र पत्रकार लम्साल इह्रिकोनको अध्यक्ष हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]