|

चितवन : भरतपुर १९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन्। साउन २० गते यहाँ पुन मतदान हुँदैछ। 
भरतपुर वडा नम्बर १९ मा पुन मतदानका लागि मिति तयगर्न आज बसेको सर्वदलिय बैठकमा यस्तो सहमति भएको हो।

नेकपा एमालेका अध्यक्ष तथा सांसद् कृष्णभक्त पोखरेलले राजनीतिक तिक्तता नगरी शान्तिपुर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको बताए। 
‘कुनै पनि राजनीतिक तिक्तता नगर्ने, चितवनले जो एउटा कलंक व्यहोर्‍‍यो फेरी त्यो कलंक नव्यहोर्नेे गरी शान्तिपूर्ण निर्वाचन गर्ने कुरामा सबै राजनीतिक दलबीच सहमति भएको छ,' उनले भने। 

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने गरी मौन अवधि सुरु हुने बताए। नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले सबै दलहरुको सहमतिमा मिति तय गरी सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न गर्ने सहमति भएको बताए। उनले सहमति अनुसार नै सबै ददलअघि बढ्ने बताए। 

आजै दलिय सहमति अनुसार यही साउन २० गते शुक्रबाट पुन मतदान गर्ने निर्णय भएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सुचनामा ‘२०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशन अनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म पुनःमतदान हुने’ उल्लेख छ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर १९ को २८०७ बदर मतलाई दलिय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्डहलको परिसरमा जलाएर नष्ट गरेको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भैसकेको जानकारी दिए।

पुनःमतदानमा ३६ कर्मचारी खटाइने 

साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर १९ मा ३६ जना कर्मचारी खटाइने भएको छ।  तीनवटा मतदानस्थलमा ६ मतदान केन्द्र रहेको भरतपुर वडा नम्बर १९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए। 

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। 

वडा नम्बर १९ को किरण मावी किरणगञ्ज मतदान स्थलमा १ हजार २४८, जिवनज्योती स्कुल गुञ्जानगरमा १ हजार ३०६ र शारदानगर माविमा १ हजार २४३ गरी कुल ३ हजार ७९७ मतदाता छन्।

जेठ १४ गते राती मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिवार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुन मतदानको फैसला सुनाएको थियो।

१९ वडामा पुन निर्वाचन हुन बाँकी छदाँ प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अघि छन्। 
ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ। भरतपुर वडा नम्बर २० मा ३ हजार ३०२ छ खसेको छ भने वडा नम्बर १९ मा ३ हजार ७९७ मतदाता छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.