|

बैतडी : कुनैबेला रजश्वला हुँदा छुट्टै कोठा वा घरको एक छेउमा अलग्गै बस्नुपर्छ, कसैलाई छुन हुँदैन भन्ने मानसिकता राख्ने बैतडीका महिला अहिले जागरुक बन्दै गएको पाइएको छ। त्यतिबेला सरसफाइमा पनि खासै ध्यान नदिने गरेका महिलाहरु अहिले यस विषयमा निकै सचेत भइसकेका छन्।

दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटकी लक्ष्मी भाट आजभोलि महिनाबारी हुँदा सेनेटरी प्याड प्रयोग गर्छिन्। सेनेटरी प्याडले महिनाबारी हुँदा सफा रहन सहयोग गर्ने थाहा पाएपछि उनले यसको प्रयोग गर्न थालेकी हुन्। ‘पहिला–पहिला महिनाबारी भएको बेला चार दिनसम्म ननुहाउने चलन थियो,’ उनले भनिन्, ‘प्याडको बारेमा त हामीलाई केही पनि थाहा थिएन।’

उनले प्रयोग गर्ने प्याड आफैँले बनाउने गरेकी छन्। महिलाहरुलाई सामुदायिक सिकाइ केन्द्र श्रीकोटले सेनेटरी प्याड बनाउने तालिम दिएपछि गाउँघरका महिला आफैँ प्याड बनाएर प्याड प्रयोग गर्न थालेका हुन्। ‘आजभोली सबैले आफैँ सेनेटरी प्याड बनाएर प्रयोग गर्छौ,’ दोगडाकेदार गाउँपालिकाकै ३५ वर्षीया ईश्वरी भाटले भनिन्, ‘हाम्रो बजारसम्म त्यति पहुँच थिएन्, सेनेटरी प्याडको बारेमा हामीलाई थाहा पनि थिएन, अहिले हामी आफँै बनाएर प्रयोग गर्न थालेका छौँ।’ 

आफूहरुले तालिम दिएपछि सबैले प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थी बताउँछन्। ‘महिनाबारी भएका बेला सरसफाइमा रहनु पर्ने कुराको बारेमा हामीले सामूहिक रुपमा तालिम दियौं,’ उनले भने, ‘अहिले गाउँका महिलाहरुले सेनेटरी प्याड आफैँ बनाएर प्रयोग गर्न थालेका छन्।’

प्याडको प्रयोगले महिलाहरुलाई निकै सहज भएको छ। अहिले उनीहरु ढुक्कसँग समूहको बैठक तथा सार्वजनिक ठाउँमा जानसक्छन्। ‘महिनाबारी भएको बेला रगत बग्ने र सबैको सामू बस्न अप्ठ्यारो हुने भएकाले समूहको बैठकमा समेत जाँदैनथेँ, तर अहिले प्याड बनाएर प्रयोग गर्न थालेपछि सार्वजनिक ठाउँमा जान पनि सजिलो भएको छ,’ श्रीकोटकी शान्ति नाथले भनिन्। 

बैठकमा पनि यसबारे कुराकानी हुन्छ। ‘सुरक्षित महिनाबारीका बारेमा हामीले समूहमा छलफल गर्ने गरेका छौं र सेनेटरी प्याडको प्रयोग र सरसफाइका विषयमा कुराकानी गर्ने गर्छौ। यसले महिलाहरुको व्यवहारमा समेत परिवर्तन आएको छ,’ श्रीकोटकी सरस्वती विष्टले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.