|

काठमाडौं : काष्ठमण्डप पुनःनिर्माण गर्ने विषयमा स्थानीय बासिन्दा र महानगपालिकाबीच जुँगाको लडाइँ सुरु भएको छ।  दुई वर्षअघि भूकम्पमा पूर्ण रूपमा क्षति भएको काष्ठमण्डप कसले र कसरी बनाउने भन्ने विषयमा महिनौंदेखिको विवाद टुङ्गिनुको साटो झन् जटिल बनेको छ।  

पुनःनिर्माणको कार्य अगाडि बढ्न नसकेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार सरोकारवाला निकायसँग गरेको छलफल पनि निष्कर्षमा पुग्न नसकेपछि यसले काष्ठमण्डप पुनःनिर्माणको विषयममा अन्योल थपेको छ।  यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काष्ठमण्डप पुनःनिर्माण अभियान र काठमाडौं महानगरपालिकाबीच सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार काष्ठमण्डप निर्माण गर्ने समझदारी भएकोे थियो।  

त्यसमा पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन नक्सा तयार गरिदिने र आवश्यक प्रविधिक सहयोग र अनुगमन गर्ने, आवश्यक काठ महानगरपालिकाले खरिद गरिदिने र स्थानीय बसिन्दाको समेत सहयोगमा अमानत प्रक्रियाबाट निर्माण गर्ने भनिएको थियो।  

सोहीअनुसार काष्ठमण्डप पुनःनिर्माण लागि अभियानले पुनःनिर्माण थाल्ने भन्दै जीवित देवी कुमारीलाई साक्षी राखेर स्थानीय वासिन्दाबाट काष्ठमण्डप बनाउन आर्थिक सहयोगको प्रतिबद्धता जुटाएको छ।  

स्थानीय वासिन्दाले गरेको प्रतिबद्धताबाट करिब नौ करोड रुपियाँसम्म जम्मा हुने अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताउनुभयो।  अभियानले हाल भइरहेको जग संरक्षणका लागि ट्रस हाल्न सुरु गर्दा महानगरपालिकाका सुरक्षाकर्मीले त्यसलाई भत्काइदिएका थिए।  त्यसपछि महानगरपालिकाले जग संरक्षणको लागि भनेर ट्रस हालेको छ।  

बुधबार प्राधिकरणमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जननिर्वाचित प्रतिनिधि आइसकेको अवस्थामा महानगरपालिकाकै नेतृत्वमा काष्ठमण्डप पुनःनिर्माण गर्नुपर्ने जिकिर गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.