|
फोटो : श्रीराम अधिकारीको फेसबुकबाट

नुवाकोट : नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो तलेजु भवानीको मन्दिर वर्षाका कारण भत्किएको छ।

विदुर नगरपालिका वडा नम्बर २ नुवाकोट दरबार क्षेत्रमा रहेको तलेजु भवानीको पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग भत्किएको हो। विसं २०७२ वैशाख १२ को भूकम्पको कारण जीर्ण बनेको मन्दिर समयमा मर्मतसम्भार नहुँदा पूर्वी पाखाबाट भत्किन थालेको हो।

मल्लकालीन सो मन्दिर जीर्ण भएका कारण पछिल्लो समय प्लाष्टिकले छोपेर राखिएको थियो। पाँचतले मन्दिरको माथिल्लो तला भूकम्पको कारण भत्किएकाले एक तला हटाएर चार तलामा प्लाष्टिकले छोपेर राखिएको थियो। अहिले प्लाष्टिक पनि च्यातिएर पानी पसेपछि मन्दिर भत्किन थालेको हो। चार वर्षअघि चट्याङका कारण मन्दिरको गजुर भत्किएको थियो।

भूकम्पका कारण झनै जीर्ण मन्दिरलाई बेलैमा जीर्णोद्धार गर्न ध्यान नपुग्दा जगैसम्म भत्कने अवस्थामा पुगेको नुवाकोट दरबार क्षेत्रका द्वारे महेन्द्रकुमार शाहीले बताए।

मन्दिरको मर्मतका लागि पुरातत्व विभागलाई पटक पटक भन्दा पनि चासो नदिइएका कारण मन्दिर भत्किएको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.