|

कालीकोटः छोरो नजन्माएको भन्दै २० वर्षकी जर्माकुमारी र उनकी आमालाई बाबुले उनी सानै छँदा अलपत्र छाडेर अर्की पत्नी ल्याएर बसे। छोरी जन्माउनुमा आफ्नो कुनै दोष नरहे पनि जर्माकुमारीकी आमाले पति तीर्थबहादुर शाहीबाट सजाय भोग्न बाध्य भइन्।

नाबालक तीन छोरी र आफूलाई अलपत्र पारी पतिले सौता हालेपछि उनका दुःखका दिन सुरु भए। जिल्लाको फोइमहादेव गाविस– २ की २० वर्षकी जर्माकुमारी शाही सानै हुँदा उनका दुई बहिनी र आमालाई बाबुले अलपत्र छाडेका थिए। 

छोरा नपाउने अलच्छिनी भन्दै अलपत्र छाडेर सौता हालेपछि जर्माकुमारीकी आमाले नजिकै बजारमा दाउरा बेचेर तीन जना छोरीलाई हुर्काइन्। उमेर ढल्कँदै गएपछि उनी कमाउन नसक्ने भइन्, उनका हात खुट्टाले साथ दिन छाडे।

आमा अशक्त भएपछि जर्मकुमारीले पढाइ छाडिदिइन्। दुःख गरेर हुर्किएपछि जर्माकुमारीमा पनि केही गर्ने हिम्मत पलाएको थियो। आमाको दुःख सानैबाट देखेकी उनले गाउँमै ऋण गरेर फोइमहादेवकै नाग्म बजारमा तरकारी पसल खोलिन्।

ऋण गरेर खोलेको तरकारी पसलबाट राम्रो आम्दानी हुन थाल्यो। समय सधैँ एकनासको हुँदैन, जर्माकुमारीले संघर्ष गरेर आमा र बहिनीहरूलाई पाल्न थालिन्। जर्माकुमारीको प्रगति सुनेपछि हिजो छोरी भनेर हेला गर्दै अलपत्र पार्ने बाबु अहिले उनैकहाँ पैसा माग्न आउन थालेका छन्।  ऋण गरेर थालेको तरकारी पसलबाट जर्माकुमारीले मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छन्। कक्षा १० सम्म अध्ययन गरेकी शाहीले आर्थिक अभावका कारण विद्यालय छाडिन्। तर, उनी आज आफ्नो हिम्मतले गाउँमा व्यवसायीका रूपमा स्थापित पनि भएकी छन्। 

‘छोरो नभएको भन्दै बाबुले हेला गरेपछि बिचल्ली परेर पढ्न पाइनँ। पढाइ बीचमै छाडेर तरकारी पसल खोलेँ’, जर्माकुमारीले सुनाइन्, ‘अहिले यही तरकारी पसलले बहिनीहरूलाई पढाइरहेकी छु। घर खर्च चलाउन पनि सजिलो भएको छ।’

छोरी भएकै कारण हेला गरेर अलपत्र पार्ने बाबु पैसा माग्न आउन थालेपछि उनलाई पनि अनौठो लागेको छ। ‘हिजो हेला गरेर अलपत्र पार्नुभयो, आज मेरो आम्दानी देखेर पैसा माग्न आउन थाल्नुभएको छ’, उनले भनिन्, ‘तर मैले उहाँलाई पैसा दिएकी छैन। मलाई हेला गर्नेलाई छोरी पनि छोरा जस्तै सक्षम हुन्छन् भन्ने देखाउनु छ। छोरी भएरै आमालाई पनि पालेकी छु।’

आमाले छोरा नजन्माएको भन्दै बाबुले कान्छी ल्याएपछि पढ्न नपाएकोमा जर्माकुमारीको मन दुखेको छ। ‘पैसो नहुँदा एसएलसी दिन परीक्षा केन्द्रसम्म गएर बस्न सकिनँ’, उनले सुनाइन्, ‘त्यहाँ गएर खान बस्न मलाई आर्थिक अभावले समस्या बनायो। त्यही कारण एसएलसी दिन नपाउँदा पढाइ अघि बढेन।’

आमाले दाउरा बेचेर छोरीहरुलाई पालेकी थिइन्, तर उनी बिरामी भएपछि जर्माकुमारीको घरको चुल्हो नै नबल्ने अवस्था आयो। ‘आमाले कमाउने बाटो बन्द भएपछि भिडिसेफ संस्थाबाट ऋण लिएर पसल खोलेकी थिएँ’, उनले भनिन्, ‘हाम्रो अवस्था एकदमै नाजुक थियो। पसल चलाउने ऋण नपाएको भए हाम्रो अवस्था कस्तो हुन्थ्यो होला?’

पसलबाट दैनिक दुई हजार ५०० देखि तीन हजारसम्मको कारोवार हुन थालेपछि उनले त्यही आम्दानीबाट बिरामी आमाको उपचार गराइरहेकी छन्। ‘मैले खोलेको पसलबाटै दुई बहिनीलाई पढाइरहेकी छु’, उनले भनिन्, ‘पसलमा राम्रै व्यापार हुने गरेको छ। अब केही गर्ने हिम्मत पनि पलाएको छ।’

उनले छोरा नपाएको बहानामा आफ्नी आमा जस्तै धेरै महिलाले दुःख पाउने गरेको पीडा सुनाइन्। ‘महिलाहरूले छोरा नपाएको निहुँमा धेरै दुःख पाउनुपरेको छ’, उनले भनिन्, ‘छोराछोरी समान हुन् भन्ने सोच समाजमा नआउँदासम्म महिलाका दुःख कहीँ जाँदैनन्।’

जर्माकुमारी पहिलोमा आफू सक्षम हुने भावी दिनमा आफू जस्तै दुःख पाएका आमाहरूको सेवामा समय खर्च गर्ने योजना बनाएको बताइन्। ‘पहिला आफू सक्षम र सबल हुनु छ’, उनले भनिन्, ‘भावी दिनमा महिलामाथि हुने विभिन्न खाले हिंसाका विरुद्ध लड्ने योजना बनाइएकी छु।’

विगतमा आर्थिक अवस्थाका कारणले छुटेको एलएलसी परीक्षा दिने र व्यवसायसँगै पढाइलाई निरन्तरता दिने योजना बनाएको जर्माकुमारीले बताइन्। ‘विगतमा आर्थिक अवस्थाका कारणले मेरो पढाइ छुट्यो’, उनले भनिन्, ‘व्यवसायसँगै पढाइलाई निरन्तरता दिने योजना बनाएकी छु।’

समाजमा छोरा नभएका कारणले कयौँ महिला घरपरिवारबाट घरेलु हिंसापीडित हुनुपर्ने गरेको र समाजका त्यसका लागि लड्ने कुनै पनि योजना नभएको उनले बताइन्। ‘छोरा नभएका कारणले म र मेरा आमा जस्तै धेरै महिला पीडित भएका छन्’, उनले भनिन्, ‘त्यसका विरुद्ध लड्ने कुनै पनि समाजमा योजना छैन।’
समाजमा हुने कुरीतिका कारणले आफ्नी आमा र आफू पीडित भए पनि अरू कोही पनि त्यसरी पीडित नहुन् भन्ने जर्माकुमारी कामना गर्छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.