|

इलाम : पशुपालन व्यवसायमा अग्रणी रहेको इलाममा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको पशुजन्य उत्पादन हुने गरेको छ। जिल्ला पशु सेवा कार्यालय इलामको तथ्याङ्ककले सबैभन्दा बढी दूध र दूधजन्य वस्तुको उत्पादन हुने गरेको देखाउँछ। 

गत आर्थिक बर्षमा इलाममा चार अर्ब ७० करोड ६१ लाख रुपैयाँ बराबरको दूध उत्पादन भएको थियो। इलाममा गाई, भैंसी र चौरीको गरेर वार्षिक १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दूध उत्पादन भएको छ।

गत आर्थिक वर्षमा जिल्लामा १ लाख २३ हजार ७  सय ४० मेट्रिक टन दुध उत्पादन भएको हो।  गत वर्षको उत्पादन आर्थिक वर्ष ०७२-७३ को तुलनामा २ हजार १ सय ३८ मेट्रिक टनले बढी हो। जिल्लामा उत्पादन भएकोमध्ये ३६ हजार पाँच सय  मेट्रिक टन मात्रै दूध जिल्ला बाहिर निकासी भएको छ।

केही दूध जिल्लाको आन्तरिक बजारमा खपत हुन्छ भने  यातायातको पहुँच नपुगेको ठाउँमा उत्पादन भएको दूधले बजार पाउन सकेको छैन। धेरै दूध उत्पादन हुने क्षेत्रमा यातायात सञ्जाल बिस्तार भइरहेको छ।

दूधपछि चार अर्ब रुपैयाँ भन्दा बढीको मासु उत्पादन हुने कार्यालयले जनाएको छ। यहाँ खसी, राँगा, बंगुर, कुखुरा मासु उत्पादनका लागि पालिने गरेको छ। यसबाट ९ हजार ७ सय ४७ मेट्रिक टन मासु उत्पादन हुने गरेको पशु सेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए।

एक वर्षमा इलाममा चार अर्ब ३८ करोड ६४ लाख रुपैयाँको मासुको कारोबार हुने गरेको तथ्याङ्कमा उल्लेख छ। ८५ करोड रुपैयाँभन्दा बढीको दूधजन्य परिकारको कारोबार हुन्छ। 

चिज, घ्यू, छुर्पी, ललिपप र पनिर गरेर  वार्षिक १७ लाख १३ हजार ५ सय किलो दूधजन्य परिकारको उत्पादन हुन्छ। सरदर ५ सय रुपैयाँको दरले ८५ करोड, ६७ लाख ५० हजार बराबरको दूधजन्य परिकारको कारोबार हुने गरेको कार्कीले बताए। 

इलाममा ६ करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको अन्डा उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्षमा इलाममा साढे आठ अर्बको मात्र पशुजन्य उत्पादन भएको थियो।

उत्पादन भएकोमध्ये कति पशुजन्य उपज जिल्ला बाहिर निर्यात हुन्छ भन्ने यकिन तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयसँग पनि छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.