|

बागलुङ : जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा बाम–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना विजयी भएका छन्।  

प्रमुख र उपप्रमुखसहित बाम–राप्रपा गठबन्धनका सबै सदस्य निर्वाचित भए। प्रमुख  पदमा ढुङ्गानाले काँग्रेसका उम्मेदवार लक्ष्मण आचार्यलाई ४ मत अन्तरले पराजित गरेका बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए। 

ढुङ्गाना स्थानीय तहको चुनावमा बरेङ गाउँपालिकाको वडा नम्बर–१ बाट सदस्य निर्वाचित भएका थिए। ढुङ्गानाले १२ मत प्राप्त गरे भने अचार्यले ८ मत मात्र ल्याए। 

जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए। काँग्रेस भने एक्ले चुनावी मैदानमा उत्रेको थियो। 

उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका विष्णु भुसाल निर्वाचित भएका छन्। एमाले बागलुङका उपसचिव समेत रहेका भुसाल बडीगाड गाउँपालिका वडा नम्बर–१ का निर्वाचित वडा अध्यक्ष हुन्।

उनी जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद स्वत रिक्त भएको मुख्य निर्वाचन अधिकृत बेल्बासेले बताए। समितिको सदस्यमा एमालेका राजु केसी र रुपा विक, राजमोका ताराकुमारी पुन तथा माओवादी केन्द्रका झम्कबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाका डिल्ली आचार्य निर्वाचित भए। 

१० स्थानीय तह रहेको बागलुङमा बाम–राप्रपा गठबन्धनको १२ र काँग्रेस एक्लैको ८ मत थियो। बागलुङमा काँगे्रस र एमालेले ४÷४ स्थानीय तह तथा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले १÷१ स्थानीय तह जितेका छन्।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमालेसँग ६, माओवादीसँग २, राष्ट्रिय जनमोर्चासँग ३ र राप्रपासँग १ मत थियो। निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यको सपथ शुक्रबारै भएको छ। 

जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख र उपप्रमुलाई मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले पद तथा गोपनियताको सपथ गराए। त्यसपछि सदस्यलाई प्रमुख राजेन्द्र ढुङ्गानाले सपथ गराएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.