|

डडेल्धुरा : वर्षाका कारण डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन्। लगातारको वर्षाले सदरमुकामसँग जोडिएका सडक प्राय अवरुद्ध हुँदा ग्रामीण भेगमा स्थानीय समस्यामा परेका हुन्।

साना गाडी सञ्चालनमा आउने डडेल्धुराका पाँचवटै गाउँपालिका सदरमुकाम जोड्ने कच्ची सडक पहिरोसँगै हिलाम्य बनेर अवरुद्ध भएका छन्। पहिरो आएका स्थानसम्म एवं आधा बाटोसम्म जिप गाडी सञ्चालनमा आए पनि सडक हिलाम्य हुँदा कष्टकर यात्रा गर्नु पर्ने यात्रुको गुनासो छ। सडक सञ्चालनतर्फ कुनै पनि निकायको ध्यान नगएको गाडी सञ्चालक तथा यात्रुको आरोप छ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटीका ग्रामिण कच्ची सडक अवरुद्ध हुँदा डडेल्धुरा सदरमुकाम तथा आसपासका क्षेत्रमा उत्पादित ब्रोइलर कुखुरालगायत अन्य स्थानीय उत्पादन तरकारीले राम्रो बजार पाउन सकेको छैन। गाउँ बस्तीमा उत्पादित दैनिक उपभोग्य वस्तुको बजार क्षेत्रमा पनि अभाव देखिएको छ।

उपलब्ध वस्तुको मूल्यमा समेत व्यापारीहरुले वृद्धि गरेको उपभोक्ता बताउँछन्।  सडक अवरुद्ध हुँदा ६ हप्तामा तयार हुने ब्रोइलर कुखुरा ८–१० हप्तासम्म किसानले खोरमै पाल्नुपरेको कुखुरापालन व्यवसायी समिति डडेल्धुराका अध्यक्ष गगन भण्डारी बताउँछन्। उनका अनुसार कुखुराको माग अत्यधिक भए पनि लगातारको वर्षा तथा सडक अवरुद्ध भएपछि पुर्‍याउन सकिएको छैन। जसको प्रत्यक्ष असर किसान, उपभोक्ता र व्यवासयीलाई परेको छ।

उपभोक्ताको मागअनुसार व्यवसायीले कुखुरा उपलब्ध गराउन नसक्दा यँहाका किसानलाई झनै मर्का परेको प्रज्ञा पोल्ट्री फर्मका सञ्चालक कुखुरा व्यवसायी पदम भट्ट बताउँछन्। उनका अनुसार खोरमा कुखुरा छ, बजार माग पनि छ तर, लगातारको वर्षा र ग्रामीण क्षेत्रका सडक अवरुद्ध हुँदा समस्या सबैले भोग्नुपरेको छ। मौसमले साथ दिए किसान र उपभोक्ता दुवैले राहत पाउने व्यवसायी भट्टको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.