राजदूत महेन्द्र सिंहले भेट नै नदिएको पीडितको गुनासो

|
साउदी अरबमा अलपत्र नेपाली युवा दूतावासअगाडि रोडमा सुतेर धर्ना दिँदै। तस्बिर:दिनेश खत्री/साउदी अरब

उदयपुर : साउदी अरबको रियाद सहरको ६ नम्बर आवोल हुवा रोडमा रहेका विभिन्न कम्पनीमा काम गर्ने ११ नेपाली युवा विनातलब कम्पनीबाट निकालिएका छन्। सात महिनाअघि नेपालका दुई म्यानपावरमार्फत साउदी पुगेका ११ जना नेपाली युवा काम गर्ने कम्पनीमा तलब माग्दा विनाज्याला निकालिएका हुन्।

काठमाडौंमा रहेको लक्की म्यानपावर ओभरसिज र एचआरडी ओभरसिजमार्फत साउदी अरबको रियाद सहर पुगेको ६ महिनामा अलपत्र परेको पीडित दिनेश खत्रीले बताए। ‘नेपालका ८ जिल्लाका ११ युवा अहिले नेपाली राजदूतावासनजिकै रहेको रोडमा तीनदिनदेखि रात कटाइरहेका छौं,’ उदयपुर थाहा खबरकर्मीसँग फेसबुक म्यासेन्जर र भाइबरमा कुरा गर्दै खत्रीले भने, ‘हामीलाई ट्राभल डकुमेन्ट मिलाएर नेपाल फर्काइदेऊ भन्दा पनि राजदूतावासले कुनै सुनुवाइ गरेको छैन।’

यसैगरी, साउदीको रियाद सहरको ६ नम्बर आवोल हुवा रोडकै कम्पनीबाटै लखेटिएका उदयपुर घर भएका हेमराज बस्नेतले ६ वटा कम्पनीमा कार्यरत नेपाली विनातलब लखेटिनुपरेको बताए। ‘हामी सबैलाई एउटा कम्पनीमा सम्झौता गरेर साउदीमा पठायो म्यानपावरले अनि अर्कै कम्पनीमा काम लगायो,’ बस्नेतले भने, खान बस्नलाई मात्र पैसा दिने अरु काम गरेको ज्याला माग्न थालेपछि कम्पनीबाटै लखेटिदियो।’

रियाद सहरको ६ नम्बर आवोल हुवा रोडमामा सुतिरहेको फोटो म्यासेन्जरमा पठाउँदै दाङका देव ठाकुरले गएको शुक्रबारदेखि दूतावासको शरण खोज्न बाध्य भएको बताए। उनका अनुसार अलपत्र पर्नेमा अम्बिका प्रसाद भट्टराई र हेमराज बस्नेत उदयपुर, दीपक खत्री खोटाङ, देव ठाकुर दाङ, सन्तोष नेपाली तनहुँ, हरिबहादुर खबास स्याङजा, लालप्रसाद भट्ट मुगु, केशवबहादुर बोहोर र नरबहादुर बोहोरा बैतडी, जगत कसेरा र दीपक विक सुर्खेतका छन्।

पीडितका अनुसार खोटाङ दीपक एचआरडी म्यानपावरमार्फत साउदी गएका हुन् भने अरु सबै लक्की म्यानपावरका स्थानीय दलालमार्फत साउदी पुगेका हुन्। ‘हामी सबैलाई स्थानीय रुपमा एजेन्टको काम गर्ने दलालले ठगेको रहेछ,’ तनहुँका सन्तोष नेपालीले भने, ‘हामी अलपत्र परेकाले नेपाल फिर्ता गरिदेऊ भन्दा म्यानपावरले समेत गाली गर्छ।’

राजदूत महेन्द्र सिंहले भेट नै दिँदैनन्

साउदीका लागि राजदूत भएर गएका राजदूत महेन्द्र सिंहले अलपत्र परेका नेपालीलाई भेटै नदिने गरेको पीडित ११ नेपालीले गुनासो गरेका छन्। गएको शुक्रबारदेखि राजदूतको कार्यालय अगाडिको खुला रोडमा बसेर भेट्ने समय माग्दा पनि राजदूत सिंहले नदिएको खोटाङका दीपक खत्रीले बताए।

‘हामीले गरेको फोन उठाउँछन् र भन्छन् चिन्ता नगर केही हुँदैन,’ कुराकानीमा खत्रीले भने, ‘हामीले नेपालको परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभागले समेत दूतावासमा सहयोग माग्न भनेका छन्, भन्दा फोनै काटिदिन्छन्।’ अहिले सबै आफूहरु धर्नामा बसेको उनीहरु बताउँछन्।

यसैगरी, ११ जनामध्ये अधिकांशले थाहाखबर उदयपुरको कुराकानीमा राजदूतले समेत हेला गरेको बताएका छन्। ‘पीडित अम्बिकाप्रसाद भट्टराईले भने, ‘पराराष्ट्र मन्त्री कृष्णबहादुर महराको नाम लिए कुनै पनि काम नहुने भन्दै धम्की दिने गरेका छन्।’

यस विषयमा साउदीका नेपाली राजदूत महेन्द्र सिंहलाई उनको निजी नम्बर ०५३५८२१५८२ मा उदयपुरबाट सम्पर्क गर्दासमेत फोन रिसिभ गरेका छैनन्। उनको निजी फेसबुक म्यासेन्जरमा यसबारे राखिएको जिज्ञासाको कुनै उत्तर आएको छैन।

पीडितहरुले आ–आफ्नो घरमा फोन गरेर आफन्तमार्फत स्थानीय एजेन्टलाई उजुरी गर्न परिवारसँग आग्रह गरेको उनीहरुले बताएका छन्। सबैले १ लाख ७० हजारसम्म एजेन्टलाई बुझाएर साउदी गएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.