|

काठमाडौँः स्रष्टा अनमोलमणि दोस्रो कथासंग्रह १९ नम्बर लिएर आएका छन्। सांग्रिला बुक्सले बजारमा ल्याएको यस संग्रहमा उनले विभिन्न समयमा लेखेका नौवटा कथा संगृहीत छन्।

विज्ञानको प्रगतिले मान्छेको संवेदनामा पारेको प्रभाव र प्रेमका विषयमा प्रभावकारी कथा लेख्दै आएका अनमोलमणिले १९ नम्बरमा पनि त्यसको स्वाद दिएका छन्।

संग्रहका कथामा सामाजिक विकृति, विसंगति, राजनीतिक अव्यवस्था र त्यसबाट सिर्जना भएका विभिन्न अप्ठ्यारा, जटिलतालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् कथाकारले। 

मध्यमवर्गीय समाज र त्यस समाजका असीमित आकांक्षा, मध्यम वर्गमा फेरिएको सौन्दर्यचेत, नारीमाथि हुने ज्यादती, नेपालको शिक्षा प्रणाली र त्यसले सृजना गरेको मनोदशा, माओवादी द्वन्द्व र त्यसले मानिसका अपेक्षाहरूमा गरेको प्रहार, व्यक्तिको आप्रवासी बन्ने हुटहुटी र त्यसपछि जन्मथलोको कल्पनाले सिर्जना गर्ने संवेदना कथामा जीवन्त भएर आएका छन्। कथाको भाषा सरल र लयात्मक छ। 

‘मैले बाँचुन्जेल आफू बाँचेको समयसित संवाद गरिरहनुपर्छ। समयसितको हरेक संवादले मलाई विषय दिन्छ। म त्यही आफू बाँचेको समय बुझ्न कथा लेख्छु’, कथाकारले भनेका छन्।

अनमोलमणि कथा, कविता, गजल, अनुभूतिजन्य निबन्ध लेखनमा स्थापित नाम हो। राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा झण्डै दुई दशक सक्रिय पत्रकारिता गरेका अनमोलमणिका नीलिमा र गाढा अँध्यारो कथासंग्रह, सबुत कवितासंग्रह, आजका नेपाली कथा (सम्पादन) र नदी किनारमा उभिएर गजलसंग्रह प्रकाशित छन्। 

उनी क्यानडाको अल्बर्टा प्रान्तस्थित राइटर्स गिल्ड अफ अल्बर्टाले आप्रवासी लेखकलाई प्रदान गर्ने बोर्डर लाइन्स राइटर्स सर्कल, २०१५-२०१६ को एक वर्षे लेखकवृत्तिमा कथा लेखनका लागि छनोट भएका लेखक हुन्।

अहिले उनी शिक्षाको समाचारमूलक अनलाइन न्युज पोर्टल एडुखबर डट कमका संस्थापक प्रधानसम्पादक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.