|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुगेर नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

डा. भट्टराई प्रोस्टेट ग्ल्यान्ड (मूत्रथैली) को शल्यक्रियापछि गत शुक्रबारदेखि नागरिक अस्पतालमा उपचाररत छन्। भट्टराई बुधबार दिउँसो २ बजे डिस्चार्ज हुँदैछन्। त्यसक्रममा अस्पतालमै भट्टराईले पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन्।

दिउँसो १ बजे अस्पताल पुगेका ओलीले चिकित्सकहरुसँग भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसक्रममा ओलीले भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरे। 'उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' भेटपछि पत्रकारसँग ओलीले भने, 'स्वास्थ्य अवस्था राम्रो पाएँ, उहाँ छिट्टै पूर्णरुपमा निको भएर आउनुहुनेछ।'

उनले भेटमा राजनीतिक विषयमा खासै कुराकानी नभएको बताए। 'राजनीति गर्ने मान्छेहरु बिरामी भएर हस्पिटलमा भए पनि देशको चिन्ता गर्ने कुराहरू त भइहाल्छ, त्यो स्वभाविक हो,' ओलीले भने, 'तर त्यस्तो उल्लेखनीय निर्णय हामीले गरेका छैनौं।'

यसअघि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसअघि सभामुख ओनसरी घर्तीले नागरिक अस्पताल पुगेर भट्टराईलाई भेटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.