|

उदयपुर : ३१ साउनमा उदयपुरमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमालेका नेता जिल्ला प्रमुख तथा उप्रमुखको पद हत्याउन दौडधूपमा व्यस्त हुन थालेका छन्। स्थानीय तहमा दुई तिहाई बहुमत प्राप्त गरेपछि एमालेभित्र समन्वय समितिको प्रमुख तथा उप्रमुख र सदस्य बन्नलाई छलफल र दौडधूप बढेको हो।

एमालेमा क-कसको छ चर्चा?

प्रमुख पद ताक्दै नेताहरु विशेषगरी पार्टीका केन्द्रीय नेताहरुसँगको भेटघाटमा व्यस्त भएका छन्। सके आफैं नभए पनि आफू निकटकालाई बनाउने लबिङमा जुटेको एमालेको एक स्रोतले बताएको छ। केन्द्रीय नेतासँग प्रत्यक्ष चिनजान भएकाहरु काठमाडौं पुगेर केन्द्रका नेतालाई समेत भेट्ने गरेका छन्।

समन्वय समितिको प्रमुख पदका लागि विशेषगरी १ नम्बर प्रदेश कमिटी सदस्य नवराज पोखरेल, जिल्ला कमिटी सचिवालय सदस्यद्वय शिव रेग्मी, खड्ग परियार, जिल्ला कमिटी सदस्यद्वय टामिन्द्र राई, हृदय तामाङ, पूर्वजिल्ला कमिटी सदस्य डिकबहादुर राउतको नाम चर्चामा छ।

पोखरेल कटारी नगरपालिका वडानं १ को निर्वाचित वडाध्यक्ष हुन्, यसअघि, उनी साविक त्रिवेणी गाविसका अध्यक्ष पनि हुन्। त्यसैगरी, रेग्मी त्रियुगा नगरपालिकाको वडानं १३ को सदस्य हुन्। उनी पनि अघिल्लो निर्वाचनमा वडानं ४ को वडाध्यक्ष हुन्। परियार त्रियुगा नगरपालिका, राई रौतामाई गाउँपालिका र तामाङ कटारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् भने राउत सुनकोसी गाउँपालिकाको वडानं ३ को निर्वाचित वडाध्यक्ष र सदस्यहबीच लडाइँ चलेको छ।

त्यसैगरी, उपप्रमुखमा टोटला दाहाल र गंगा राईको नाम चर्चामा छ। दाहाल त्रियुगा नगरपालिका वडा नम्बर १२ र राई वडा नम्बर १० को महिला सदस्यमा निर्वाचित भएका हुन्। यसका साथै बाँकी रहेको ७ सदस्यका लागि पनि नेताबीच दौडधूप सुरु भएको छ। जम्मा ९ सदस्य निर्वाचित हुने जिल्ला समन्वय समितिका लागि जिल्लादेखि केन्द्रसम्मै जिल्लास्तरका नेताहरुको दौडधूप, लबिङ र भेटघाट बाक्लो हुन थालेको हो।

कति सिट हो एमालेको भागमा?

४ नगर र ४ गाउँपालिका गरी ८ तह रहेको स्थानीय तहमा एमालेले ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख १ ठाउँमा प्रमुख पद गरी जम्मा ११ वटा सिट जितेको छ। एमालेले सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा प्रमुख मात्र जितेको छ भने बेलका, कटारी नगरपालिका नगरपालिका, ताप्ली, रौतामाई र उदयपुरगढी गाँउपालिकमा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ। एमालेको एकलौटी हुने भएपछि एमालेभित्र को-को जाने भन्नेबारे विवाद भएको हो। एमाले उदयपुरका जिल्ला अध्यक्ष र सचिव दुवै जिल्लाबाहिर रहेकाले सम्पर्क हुन सकेको छैन।

कांग्रेस-माओवादी गठबन्धनको के छ अवस्था?

त्यसैगरी, कांग्रेसले चौदण्डी नगरपालिकामा प्रमुख र उपप्रमुख, त्रियुगा नगरपालिका र सुनकोसी गाउँपालिकामा उपप्रमुख पद गरी ४ सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले सुनकोसी गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ। माओवादी र कांग्रेस मिल्दासमेत ६ मतको फरक पर्ने भएपछि समन्वय समितिमा दुई पार्टीले उम्‍मेदवारका लागि खासै चासो दिएका देखिएका छैनन्।

स्थानीय तहको चुनाव सम्पन्न भएपछि १५ साउन आइतबार बसेको पहिलो जिल्लासभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो। यसअघि, स्थानीय निकायहरुमध्ये गाउँ विकास समिति र नगरपालिकाभन्दा शक्तिशाली संयन्त्रको रुपमा रहँदै आएको जिल्ला विकास समिति स्थानीय तह पुनःर्संरचनापछि समन्वय समितिमा परिणत भएको हो।

चुनावपछि स्थानीय तहमा निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुख र उपप्रमुख सदस्य रहने गरी गठित जिल्लासभाले समन्वय समिति गठन गर्ने प्रावधान छ। सोहीअनुसार समन्वय समिति गठन गर्ने सभाले निर्णय गरी मुख्य निर्वाचन अधिकृतलाई कार्यतालिका बनाउने अख्तियारी दिएको थियो।

सभाको अख्तियारीसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले २९ गते मतदाता नामावली प्रकाशन, उमेदवारी दर्ता, दावि विरोध, अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचन सम्बन्धी सम्पूर्ण काम सम्पन्न गरी ३० गते विदाको दिन परेकाले ३१ गते मतदान कार्य अगाडि बढाइ सोही दिन घोषणासभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.