|

काठमाडौँ: प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ बुधबार बिहान सुरु भएको छ। 

गाईजात्राको भोलिपल्ट पर्ने यस पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गर्छन्। 

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने यस पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ।

बुधबार साँझसम्म चल्ने यस पर्वमा मानिसलाई सिँगारेर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ। यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन) मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ। 

उक्त पर्वका क्रममा ससाना बालबालिका तथा वयष्कलाई समेत आआफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ। सोही क्रममा विभिन्न टोलटोलमा भएका बौद्ध सम्पदा, चैत्य तथा वहा वहीमा दीप प्रज्वलनसमेत गरिन्छ। 

यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको स्थानीयवासी रविनमुनि बज्रचार्यले जानकारी दिए। 

‘मतया पर्व’का केही झलक हेर्नुस् फोटामा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.