|

विराटनगरः विराटनगरमा भारतका लोकप्रिय गायक कुमार सानुको अन्तर्राष्ट्रियस्तरको ‘लाइभ कन्सट’ हुने भएको छ। विराटनगरको फन एण्ड फुड भिलेज रिर्सोटमा आउँदो असोज ७ गते कन्सर्ट हुनेछ।

मुन्टेज इन्टरनेशनल र फन एण्ड फुड भिलेज रिसोर्ट प्रा.लि.को संयुक्त आयोजनामा कुमार सानुको लाइभ कन्सर्ट हुने बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

कुमार सानुको नेपालमा पहिलो पटक लाइभ कन्सर्ट उक्त संस्थाले गरेको बताएको छ। काठमाडौँमा नेपालका दर्शकको अपार माया र सद्भाव पाएपछि दोस्रो ठूलो शहर विराटनगरमा कुमार सानुको लाइभ कन्सर्ट गर्न लागेको मुन्टेज इन्टरनेसनलका प्रबन्ध निर्देशक रोशन पराजुलीले जानकारी दिए। 

‘लाइभ कन्सर्टको तयारीमा हामी लागिपरि सक्यौँ’, पराजुलीले भने, ‘विराटनगरमा हुने कुमार सानुको कन्सर्ट भव्य र सभ्य हुनेछ।’ लाइभ कन्सर्टमा गायक कुमार सानुले लगातार दुई घण्टा आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्। नेपाली गीतसमेत गाएका कुमार सानुका गीत उत्तिकै लोकप्रिय छन्। लाइभ कन्सर्टमा उनले चारवटा नेपाली गीत प्रस्तुत गर्नेछन्। कन्सर्ट अवधिभर गायक कुमार सानुले दुई दर्जन गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

‘मनोरञ्जनको क्षेत्रमा काठमाडौँपछि पोखरा र धरानलाई मात्र हेरिने गर्दछ’, स्थानीय आयोजक तथा युवा व्यापारी कविन श्रेष्ठले भने, ‘पूर्वी नेपालको विराटनगरलाई मनोरञ्जनको क्षेत्रमा पहिचान गारउन अन्तर्राष्ट्रियस्तरको कन्सर्ट गर्न लागेका हौँ।’ 

एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको कन्सर्टमा अन्तर्राष्ट्रियस्तरको साउण्ड सिस्टम रहनेछ। कुमार सानुको लाइभ कन्सर्ट हेर्नका लागि भारतका विभिन्न प्रान्तदेखि स्वदेशका विभिन्न शहरबाट दर्शक आउने भएकाले चार हजार दर्शक अट्ने क्षमताको स्टेज बनाउने तयारी गरिएको श्रेष्ठले बताए। 

उनका अनुसार लाइभ कन्सर्टका लागि पाँच हजार र दुई हजार पाँच सय रुपैयाँका मात्र टिकट रहनेछन्। टिकटको बिक्री भने केही दिनदेखि सुरु हुने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.