|
फाइल फोटो

काठमाडौं : व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, फेवाताल अतिक्रमणबाट जोगाउनुपर्ने लगायतका विषय उठाएका छन्।

सांसद तथा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले १८ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले पहल गर्नुपर्ने बताए।

शिक्षा क्षेत्र कमाउने धन्दा गर्ने र भ्रष्टाचार गर्ने ठाउँ बन्दै गएको भन्दै उनले सरकारले गलत मनसायले कुनै मेडिकल कलेजलाई आशय पत्र दिएको रहेछ भने खारेज गर्नुपर्ने बताए।

कांग्रेस सांसद जीवनबहादुर शाहीले गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै शुक्रबारदेखि सरकारी अस्पतालमा बहिरंग सेवा बन्द भएको भन्दै सरकारले बेलैमा माग पूरा गरेर अनशन तोडाउनुपर्ने बताए। 'काठमाडौंका वीर, टिचिङ लगायतका सरकारी अस्पतालमा डाक्टरहरुले उपचार गर्न छोडेका छन्। एक जना गोविन्द केसीको माग पूरा नगर्दा सयौं बिरामीहरु बेडमा छटपटाइरहेका छन्। त्यता पनि ध्यान दिइयोस्' उनले भने।

अहिलेसम्म ५ जना प्रधानमन्त्रीले डा. केसीको माग पूरा गर्न प्रतिवद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै सांसद शाहीले प्रधानमन्त्रीले गरेको हस्ताक्षर पनि किन कार्यान्वयन हुँदैन भनी प्रश्न गरे।

कांग्रेस सांसद जगदिश नरसिंह केसीले नेपाल आयल निगमले जग्गा खरिद गर्दा भ्रष्टाचार भएको विषय सार्वजनिक हुँदा पनि सरकार मौन रहेको भन्दै विरोध जनाए। उनले पहिलेका सरकारहरुले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता भन्ने गरे पनि हिजोआव सदाचारमा शून्य सहनशीलता देखिने गरेको टिप्पणी गरे। उनले भ्रष्टाचार र अनियमितताका धेरै विषय सार्वजनिक हुँदा पनि संसदको अघिल्लो पंक्तिमा बस्ने शीर्ष नेताहरुलाई यस्ता विषयले किन नछोएको भनी प्रश्न गरे।

सरकारले किन जवाफ दिँदैन?

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शून्य समय र विशेष समयमा सांसदले उठाएका प्रश्नहरुको जवाफ सरकारले नदिएको भन्दै विरोध जनाए। 'सांसदहरुको लिखित प्रश्नको लिखित जवाफ दिने व्यवस्था संसद नियमावलीमा छ, त्यो कार्यान्वयन किन भएनन् सभामुख ज्यू' उनले प्रश्न गरे।

एमाले सांसद कृपाशुर शेर्पाले अहिलेको सरकारका मन्त्रीहरु कान नभएजस्तो र आखा नभएजस्तो भएका उनले टिप्पणी गरे।

एमाले सांसद चुडामणि विक जंगलीले फेवाताल अतिक्रमण बढ्दै गएकोमा सरकारले चासो दिनुपर्ने बताए। 'पहिला फेवाताल १० हजार वर्गमिटर थियो। अहिले ४ सय वर्गमिटरमा खुम्चिएको छ। प्रति वर्ष ४० घनमिटर बालुवा र माटो थोपरिदै गएको छ। यसको संरक्षणमा सरकार लागेको छैन' उनले भने। अहिले फेवातालको बीचमा व्यवसायी कर्ण शाक्यले रिसोर्ट बनाउन लागेको भन्दै सांसद जंगलीले सरकारले कारबाही गर्नुपर्ने बताए।

माओवादी केन्द्रका सांसद श्रीप्रसाद जवेगुले पाँचथरको फालेलुङ गाउँपालिका १ मा पहिरोले २२ घर जोखिममा परेको र एक जनाको मृत्यु भएकाले तत्काल उद्दार र राहतका लगि सरकारको ध्यानाकर्षण गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.