|

ओखलढुंगा : ओखलढुंगाका एक युवा विदेशमा मासिक एक लाख तलबको काम छाडेर आफ्नै गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्। सात वर्ष वैदेशिक रोजगारीमा रहेका ओखलढुंगा मोलुङ गाउँपालिका–१ कुन्तादेवीका हस्तबहादुर बोगटीले तरकारी खेती गर्न थालेका हुन्।

बोगटीले भने,‘विदेशमा हुँदा मासिक १ लाख कमाइ हुन्थ्यो तर, बिमार हुँदा उपचार गराउँदा र खेती कमाइ उठाउन र लगाउन घरमा पैसा पठाउँदा धेरै पैसा बच्तैनथ्यो। त्यसैले पैसा बचत पनि  हुने र परिवारसँगै बसेर आफ्नै भूमिमा काम गर्न पाइने हुनाले व्यावसायिक रुपमा तरकारी खेती थालेको हुँ।’

मासिक ४० हजार आम्दानी

३ वर्षसम्म बाँझो रहेको खेतबारीमा खनजोत गरी आफूले तरकारीसँगै अन्य अन्नबाली लगाउन थालेको उनले बताए। तरकारी खेतिबाट मासिक ४० हजार कमाइ भएको बोगटी परिवारको भनाइ छ। आफैंले कृषिसम्बन्धी पुस्तकहरु पढेरै विभिन्न बालीहरु उत्पादन गर्न थालेको बोगटीको भनाइ छ। उनले परीक्षणका लागि भनेर मकै बालीभित्रै धान पनि रोपेका छन्। त्यस्तै अन्य अन्न बालीभित्र तरकारी खेती पनि गरेका छन्।

उनले तरकारी खेती थालेसँगै परिवारमा पनि खुसियाली छाएको छ। विदेशमा हुँदा यता परिवारमा दुःख बिमार पर्दा  आआफूलाई चिन्ता पर्ने र घरमा बिमार पर्दा आफूलाई चिन्ता हुने गरेको भए पनि हाल विदेशबाट फर्केपछि परिवारसँगै भइने हुनाले परिवारमा खुसियाली छाएको बोगटीले बताए।

श्रीमान् वैदेशिक रोजगारीमा रहँदा परिवारमा स्वास्थ्य समस्या पर्दा धेरै दुःख भोगेको र यतिबेला परिवारका सबै सदस्य सँगै रही व्यावसायिक खेती गर्न लाग्दा आआफू खुसी रहेको बोगटीकी श्रीमती लक्ष्मी बोगटीले बताइन्।

कमाउनका लागि विदेशी भूमिमा होमिनुभन्दा आफ्नै भूमिमा परिवारसँगै रहेर कृषि क्षेत्रमै लगानी गर्ने हो भने आर्थिक उन्नति गर्न सकिने बोगटीको बताउँछन्। बोगटी परिवार यतिखेर खुसिसाथ कृषि व्यवसायमा जुटेका छन्। उनका एक छोरा र एक छोरी गरी दुई सन्तान छन्। सानो र सुखी परिवारसहित अब यहीँ पेसाबाट जिन्दगी बिताउने सोच रहेको बोगटीले बताए। विदेशको जस्तो परिश्रम गर्न सके आफ्नै भूमिमै सुन फलाउन सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.