|

उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा आत्महत्या गर्नेको संख्या विगतमा भन्दा बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७०/०७१ देखि २०७३/०७४ हुँदै २०७४/०७५ को साउनको तेस्रो हप्ता बित्न लाग्दा जम्मा २६२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांक छ। प्रहरी निरीक्षक देवीप्रसाद फागुका अनुसार तीन वर्ष पुगेर चार वर्ष लाग्दै गर्दाको तथ्यांकले उदयपुरमा आत्महत्या भयावह बन्दै गएको देखाएको छ।

उदयपुरमा २०७०/०७१ मा जम्मा ५८ जनाले आत्महत्या गरेका थिए भने २०७१/०७२ मा ६५ जनाले आत्महत्या गरे। २०७०/०७१ को भन्दा २०७१/०७२ मा सात जना बढीले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। 

प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ५३ जनाले आत्महत्या गरेका थिए, जहाँ केही घटेको देखिन्छ भने २०७३/०७४ मा यो संख्या बढेर ८५ पुगेको छ। ‘२०७०/०७१ देखि २०७३/०७४ सम्मको विवरणअनुसार उदयपुरमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ’, प्रहरी निरीक्षक फागुले भने, ‘अविश्वासिलो शैलीले आत्महत्या गर्नेको संख्या बढिरहेको छ।’ २०७४/०७५ सुरु हुँदै गर्दा एक जनाले आत्महत्या गरिसकेको उनले बताए।

आत्महत्या गर्नेहरूमा १० जना पुरुष भए ७ जना महिला भेटिने गरेका फागुले बताए। ‘अहिलेसम्म मैले हेरेका आत्महत्याको केसमा ७० प्रतिशत महिला भेटिन्छन् भने ३० प्रतिशत मात्र पुरुष रहेका छन्’, फागुले भने, ‘महिलामा पनि अधवैँशे उमेर समूहका छन्।’

यस्तो छ आत्महत्या गर्ने प्रकृति
उदयपुरमा अहिलेसम्म आत्महत्या गर्नेहरूले घाँटीमा पासो लगाएर झुण्डिने र बिष सेवन गर्ने गरेका छन्। त्यसमा पनि झुण्डिनेको संख्या बढी रहेको छ। २०७०/०७१ मा झुण्डिने २२ जना छन् भने बिष सेवन गर्ने ३५ र अन्य एक रहेका छन्। 

यसैगरी, २०७१/०७२ मा झुण्डिने ५१, बिष सेवन १२ र औजारलगायतका धारिलो हतियार प्रयोगरेर आत्महत्या गर्नेको संख्या दुई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। यसैगरी २०७२/०७३ मा झुण्डिने ४३, बिष सेवन गर्ने १२ र अन्य एक रहेका छन्।

२०७३/०७४ मा झुण्डिने ७१, बिष सेवन १२, नदीमा हामफाल्ने एक र अन्य एक रहेका छन्। आर्थिक वर्ष २०७४/०७५ सुरु हुँदै गर्दा एक जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। यसरी आत्महत्या गर्नेहरू १४ वर्षदेखि ४५ वर्ष उमेर समूहका भएको प्रहरीले जानकारी दिएको छ।

यस्ता छन्, आत्महत्याका कारण
आत्महत्याका आत्मबल कमजोर हुनु, दाइजो प्रथा, अचानक कुनै बेइज्जती हुनु, यौन दुव्र्यवहार, चरम गरिवी, पारिवारिक कलह, प्रेममा असफलता, आर्थिक असफलता जस्ता मुख्य कारण भेटिने गरेको प्रहरी निरीक्षक फागुले बताए। ‘मैले प्रहरी सेवामा लागेको १४/१५ वर्षको अन्तरालमा व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवी प्रकोप डिप्रेसन, मानसिक रोगी, प्रेममा बिछोड, परीक्षाको नतिजामा असफलता, आत्मसम्मान घट्दै गएपछि आत्महत्या गर्नेको गरेको देखियो’, उनले भने, ‘युवा अवस्थाको लापर्वाही, शिक्षाको ढिलाइ, असफलता र बेरोजगारी, अन्धविश्वास, जातीयता, चेतनाको कमी, एक्लोपन, गल्ती वा अपराधको बोध, ज्यादा महत्त्वाकांक्षा यसका कारण भेटिन्छन्।’ दीर्घरोगी, लागूऔषध दुव्र्यसनीलगायत पनि आत्महत्याका कारण हुने गरेका छन्। 

यता, वैदेशिक रोजगारीले पनि आत्महत्यालाई प्रश्रय दिएको पाइन्छ। ‘श्रीमान् विदेशमा, श्रीमती गाउँमा हुने भएकाले परपुरुष तथा परस्त्रीसँगको सम्बन्धको कारणले पनि आत्महत्या गर्ने गरेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय उदयपुरकी महिला सेलकी प्रमुख उमा गुरुङले भनिन्, ‘अहिलेसम्म पुरुष र महिलाले नेपाल आएपछि गर्ने आत्महत्याका कारण यस्तै छन्।’

यस्ता हुन्छन् आत्महत्याका लक्षण
जिल्ला अस्पताल उदयपुरका डाक्टर फणीन्द्र बरालका अनुसार आत्महत्याको मुख्य कारण डिप्रेसन रहेको छ। 

प्रहरी निरीक्षक देवीप्रसाद फागु पनि दीर्घरोगी, नकारात्मक रूपले एकोहरो तनाव लिने मान्छेले पनि आत्महत्या गर्ने गरेका बताउँछन्। ‘व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, दैवी प्रकोप आत्मसम्मान घट्दै गएपछि आत्महत्या गर्नेको संख्या निकै छ’, फागुले भने।

राष्ट्रिय अभिलेख तथा संरक्षण केन्द्र नेपालका समयकुमार रम्तेलका अनुसार आत्महत्या गर्नेहरुले अन्तिम इच्छा प्रकट गर्ने, बिदाई हुने कुरा व्यक्त गर्ने, अन्तिम भेटझैँ कुरा गर्ने, कहिले नगरेको साथीलाई फोन गर्ने, साथीभाइ परिवारबाट टाढाटाढा हुने संकेत देखाउन थाल्छन्। ‘आत्महत्या गर्ने मानिस विशेष गरेर एकोहोरो स्वभावका हुन्छन्’, उनले भने, ‘एकान्त स्थान मात्र मनपराउँछन्, बोल्दा, हिँड्दा, खानपिन गर्दासमेत उसको आनीबानीमा परिवर्तन आउँछ।’

यस्तो छ आत्महत्या गर्नेलाई रोक्ने उपाय
उदयपुर जिल्ला अस्पतालका डाक्टर बराल आत्महत्याको मुख्य कारण डिप्रेसन भएकाले डिप्रेसनको उपचार गर्न जरुरी भएको बताउँछन्। ‘कहिलेकाहीँ डिप्रेसनले पूरै च्यापेपछि मात्र परिवारले थाहा पाउने गरेका छन्’, उनले भने, ‘आत्महत्या गर्न खोज्ने मानिसहरूको विभिन्न लक्षण देखिएको भएमा वा नभए पनि सो मानिसको नजिककाले मात्र थाहा पाउने गर्दछन्।’ 

जसलाई समस्या छ, उसको समस्यालाई खोज्ने र समाधानको उपाय निकाल्ने गर्नुपर्ने उनको सुझाव छ। धेरै समय ऊसँग बिताउने, भलाकुसारी गरी प्रशस्त कुराकानी गर्ने, मैत्रीपूर्ण वातावरण सृजना गरिदिनुपर्ने डा. बराल बताउँछन्।

विशेष गरेर मनोपरामर्श दिने काम गरे आत्महत्याको उपचार हुन सक्ने डा. बरालको भनाइ छ। ‘मनोपरामर्श सबैभन्दा ठूलो उपचार हो’, उनी भन्छन्, ‘त्यसको लागि परिवार र उसका नजिकका साथीहरूले मात्र थाहा पाउन जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.