|

काठमाडौं : संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक संशोधनसहित पारित गरेको छ। शुक्रबार दिउँसो बसेको समितिको बैठकले डा. गोविन्द केसीको मागमा मध्यमार्गी सहमति खोज्दै विधेयक संशोधन गरेको समितिका सदस्य रामहरि सुवेदीले जानाकारी दिए।

उनले भने 'भर्खर बसेको समितिको बैठकले विधेयक पास गरेको छ। अब छलफलको लागि संसदमा जाने छ।' सांसद सुवेदीले डा. केसीको माग अनुसार नै केदारभक्त माथेमा कार्यदलको सुझाव अनुसार नै विधेयक पारित गरेको बताए।

विधेयकमा आशयपत्र लिएर बसेका र पूर्वाधार पुगेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिने र पूर्वाधार पूरा नगरेका मेडिकल कलेजलाई ३ वर्षपछि सम्बन्धन दिने गरी विधेयक पास भएको  उनले बताए।

डा. केसीको माग पूरा गर्न भन्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक बसेको थियो। चिकित्सा विधेयक माथेमा कार्यदलको सुझाव अनुसार परिमार्जन गरी पारित हुनुपर्ने लगायतका माग राख्दै डा. केसी १९ दिनदेखि आमरण अनसनमा छन्। सरकारले उनको अनशन तोडाउने प्रयास स्वरुप चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित गराएको हो।

संसदीय समितिबाट पारित विधेयकको मस्यौदामा डा. केसीले समर्थन जनाएमा उनले अनशन तोड्नेछन्। शुक्रबार साँझ नै डा. केसीको तर्फबाट वार्ता टोलीका सदस्यहरु विधेयक अध्ययनका लागि गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.