|

काठमाडौँः सकारात्मक सोच राखेर सदुपयोग गर्न जाने सामाजिक सञ्जाल फेसबुक विश्वका विभिन्न मुलुकमा रहेका मान्छेहरूभित्र रहेको प्रतिभाको प्रस्फुटनका साथै स्रष्टा/सर्जकहरूका लागि एउटा साझा मञ्च हुन सक्दोरहेछ भन्ने उदाहरण ‘प्रतिभा परिवार’ले प्रमाणित गरिदिएको छ।

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता सङ्गीतप्रेमीहरूबाट स्वतस्फुर्त रूपमा स्थापित संस्था प्रतिभा परिवारले पहिलो सौगातका रूपमा गीति एल्बम ‘प्रतिभा– १’ बजारमा ल्याएको छ। उक्त एल्बमको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं कवि वैरागी काइँलाले विमोचन गरे। 

कार्यक्रममा बोल्दै काइँलाले अध्ययन, रोजगारी वा अन्य विविध कारणले अहिले विदेशमा नेपालीको संख्या बढिरहेको र त्यससँगै साहित्य, कला र संस्कृति पनि मौलाउँदै गइरहेकोमा खुसी प्रकट गरे। उनले भने, ‘विदेशमा बस्नेहरूले आर्थिक रेमिट्यान्ससँगै साहित्य र संगीतको रेमिट्यान्स पनि मुलुकमा भित्र्याइरहेका छन्, यो उल्लेखनीय महत्त्वपूर्ण कुरा हो।’ 

विमोचित गीति एल्बम ‘प्रतिभा– १’माथि लेखक, संगीतकार तथा म्युजिक भिडियो निर्देशक खगेन्द्र पन्धाक, कवि, गीतकार तथा समालोचक सुरेश हाचेकाली, संगीतकार गणेश गुरुङ, लेखक, पत्रकार देवेन्द्र सुर्केली,   पत्रकार इन्द्र जीजिविषा र कवि तथा सञ्चारकर्मी लक्ष्मी रुम्बाले बोलेका थिए। कार्यक्रममा अञ्जना राईले एल्बमभित्रको एउटा गीत गाएकी थिइन्। 

‘प्रतिभा– १’ मा सातवटा गीत रहेका छन्। ‘माघेनी मेला’ बोलको एल्बममा रहेको पहिलो गीत जानु काम्बाङ लिङ्देन र राजा मावोले लेखेका हुन् भने नरेश लिङ्देन र अमृता सम्बाहाम्फेले यसमा स्वर दिएका छन्। अशोक लोहोरुङ राईको एरेन्ज रहेको यो गीतलाई राजरोबर्ट अजनवीले संगीत दिएका हुन्। 

यस्तै, सञ्जय राई छुच्चाको शब्द रहेको ‘लालचमा’ बोलको गीतमा सुमन राईको संगीत र अञ्जना राईको स्वर रहेको छ। गीतको एरेन्ज कुमार थापाले गरेका छन्। 

एल्बममा रहेको अर्कोे गीत ‘दैव यो कस्तो खेला’ बोलको गीतलाई इक्साहाङ चेम्जोङले रचना गरेका हुन् भने चन्द्र श्रेष्ठको संगीतमा इनुशा चेम्जोङले गाएकी छन्। यसमा अशोक लोहोरुङकै एरेन्ज रहेको छ। 

यसैगरी ‘परदेशैबाट’ बोलको गीतमा दिलीप राई सगरको शब्द, देविनबाबुको संगीत, सुमन राई र वसन्ती राईको स्वर सुन्न पाइन्छ। यस गीतको एरेन्ज विष्णु अधिकारीले गरेका छन्।

‘हिजो राति’ बोलको गीतको शब्द–संगीत राजरोबर्ट अजनवीको रहेको छ। यस गीतको मेल भर्सनमा कृष्णश्री बर्देवाको स्वर रहेको छ। यस गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन्।

यस्तै, ‘बद्नाम भो’ बोलको गीतमा शब्द/सङ्गीत देवीनबाबु राईको छ भने स्वर सलोनी सुब्बाको रहेको छ।  यो गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन्।

एल्बममा रहेको अन्तिम गीत ‘हिजो राती’को फिमेल भर्सनमा शब्द/सङ्गीत राज रोबर्ट अजनवी र स्वर नुमा राईको रहेको छ। यो गीतको एरेन्ज पनि विष्णु अधिकारीले नै गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.