|

काठमाडौँ: कविताका पारखीहरूका लागि शनिबार विशेष दिन हुनेछ। शनिबार बिदाको दिनको सदुपयोग गरी तपाईंहरूले कविताको भोक मेट्न सक्नुहुनेछ। त्यो पनि फरक-फरक कविले लेखेका फरक-फरक स्वादका कविताहरू सुनेर।

शनिबार झण्डै दुई दर्जन कविहरूले भृकुटीमण्डपको एउटै मञ्चमा कविता सुनाउनेछन्। भृकुटीमण्डपमा हुने 'काव्य उत्सव' कार्यक्रममा चर्चित कविहरूले कवितावाचन गर्ने कार्यक्रम छ। भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीकै माझ सांग्रिला बुक्सले 'काव्य उत्सव'को आयोजना गरेको हो।

सो अवसरमा रोहेज खतिवडाको सम्पादनमा प्रकाशित 'मुक्त अनुभूति: कविता र विमर्श' नामक कृतिसमेत विमोचन गर्ने कार्यक्रम छ। पुस्तकमा समावेश भएका २३ जना कविलाई 'काव्य उत्सव' मा निमन्त्रणा गरिएको छ, जसमध्ये डेढ दर्जन बढी कविले कवितावाचन गर्नेछन्।

कार्यक्रममा कविहरू सुमन पोखरेल, मनु मन्जिल, सुदीप पाख्रिन, सञ्जीव राई, हेमन यात्री, सीमा आभास, प्रकाश थाम्सुहाङलाई निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ। चितवनका भूपिन र सरिता तिवारीलाई बोलाइएको छ।

यस्तै, विप्लव ढकाल, श्रवण मुकारूङ, विक्रम सुब्बा, केशव सिलवाल, मनप्रसाद सुब्बा, विनोदविक्रम केसी, मणि काफ्ले, रमेशरञ्जन झा, रामगोपाल आशुतोष, सङ्गीत श्रोता, शकुन्तला जोशी, स्वप्निल स्मृति, बिमला तुम्खेवा र मोमिलालाई पनि निमन्त्रणा गरिएको जनाइएको छ।

शिल्पी थिएटरले २०७१ जेठदेखि २०७२ जेठभित्र सञ्चालन गरेको 'मुक्त अनूभूति' नामक कवितावाचन र छलफलका ११ शृंखलामा आधारित भएर यो पुस्तक तयार पारिएको हो। यी ११ शृंखलामा माथि नाम उल्लेख भएका २३ जना कविहरू सहभागी भई कवितावाचन गरेका थिए।

पुस्तकमा उक्त कार्यक्रममा भएका छलफल, कविहरूको परिचय र प्रत्येक कविका तीन/तीनवटा कविता समेटिएको छ। 'काव्य उत्सव'मा कवितावाचनका लागि पुस्तकमा समेटिएका २३ जना कविलाई नै निमन्त्रणा गरिएको र तीमध्ये अधिकांश कविहरू कार्यक्रममा सहभागी भएर कवितावचन गर्ने सांग्रिला बुक्सले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.